वेदमा वस्त्र

वैदिक ज्ञान विज्ञान केन्द्र, अध्यक्ष
वैदिक वस्त्र वैदिकहरुको सबै भन्दा प्रचीन र सुव्यवस्थीत वस्त्रधारणको विधान हो । वेदमा वासो वायोवीना उत्पादनमा परनिर्भरतामै रहेको छ । परनिर्भरताले नेपाली समाजको वस्त्रप्रतिको अनुराग पनि समाप्त हुँदै गइरहेको छ । कुनै विशेष पर्वमा विशेष प्रकारले बुनेको–बनाएको भाद्गाउँले, पाल्पाली र पूर्वेली टोपी लगाएर राष्ट्रियताको डिङ हाँक्नेको पनि कमी छैन । दिनानुदिन बढ्दो परनिर्भरताले हाम्रो मौलिक वस्त्र निर्माण तथा प्रयोगको विधान समाप्त हुँदैछ । देशका जनसमुदाय लगायत देशकै मौलिकता झल्काउने वस्त्रहरूको प्रयोग कम हुँदै जाँदैछ । देशको अर्थतन्त्र कपडामा आयातमुखी बन्दैछ । कपडाको परम्परागत तथा वैदिक इतिहासतर्फ एक पटक हेरौं ।
वैदिक वाङ्मयका ग्रन्थहरूमा वस्त्रसम्बन्धी उल्लेख पर्याप्त पाइन्छ । वैदिककालमा वस्त्र उद्योग उन्नत अवस्थामा थियो । वेदमा सूती वस्त्र, रेशमी वस्त्र र ऊनी वस्त्रसहित तन्तुहरूको संमिश्रण गर्न ‘तान’को प्रयोग गर्ने गरिएको प्रसंग रहेको छ । वैदिक ग्रन्थहरूमा तीन प्रकारका वस्त्रहरूको विधान उल्लेख छ । सूती वस्त्रका लागि ‘वासस’ शब्दको प्रयोग अथर्ववेदको १४।१।१७ मा गरिएको छ । रेशमी वस्त्रका लागि ‘वसनस्ताप्र्यम्’ –अथर्ववेद १८।४।३१ मा ‘ताप्र्य’ र ‘क्षौम’ शब्द उल्लेख भएका छन् । ऊनी वस्त्रका लागि ‘ऊर्णायु’ शब्द –यजुर्वेद १३।५० मा प्रयोग गरिएको छ । ऋग्वेदका दुईवटा ऋचामा उल्लेख भएअनुसार वस्त्र तन्तु (धागो)लाई तानबाट उत्कृष्ट कपडा बुन्ने विधान गरिएको पाइन्छ । उत्कृष्ट वस्त्र बुन्नेलाई ‘वासोवाय’ भनेर सम्बोधन गरिएको छ । वासोवायः –ऋग्वेद १०।२६।६ मा उल्लेख गरिएको छ । उत्कृष्ट वस्त्र बुन्ने स्त्रीलाई ‘वड्ढया’ भनिएको छ । ‘इमे वयन्ति’ –ऋग्वेद १०।१३०।१,२ । बुनाइसँग सम्बन्धित पारिभाषिक शब्दहरू पनि वेदमा प्रसस्त पाइन्छन् । तन्त्र (तानमा प्रयोग हुने काइयो) जसले धागोलाई भिन्न–भिन्न ठाउँबाट व्यवस्थित रूपमा तानभित्र प्रवेश गराउँदछ । तन्तु – ताना, ओतु – वाना, तसर – बुन्नलाई प्रयोग हुने शटल (आग्लो), मयुख – धागो तान्नका लागि प्रयोग हुने किलो, प्रवय– अगाडि बुन्दै जाने प्रक्रिया, अपवय– पछाडि बुन्ने प्रक्रिया, तनुते– विस्तार, क्रिणति– समेट्नु । वस्त्र निर्माणका सम्पूर्ण प्रक्रिया यिनै नौवटा प्रविधि र प्रक्रियाभित्र रहेको छ ।
वेदमा वस्त्रको लागि वासस, वसन, वस्त्रको प्रयोग भएको छ । अथर्ववेदमा तिनै मन्त्रहरूद्वारा सुन्दर रूपक बनाई बुनाइको प्रक्रियाको व्याख्या गरेको पाइन्छ । यसमा कालचक्रलाई एउटा काइयो भनिएको छ । त्यसमा माथि दिन र रातका दुईवटा स्त्रीले वर्षरूपी वस्त्रहरू बुन्दछन् । यसमा ६ वटा ऋतुहरू छन् जो ६ वटा किलाको रूपमा प्रयोग हुन्छन् । रात्री ताना र दिन वाना हुन् । यी दुवै स्त्री एउटै धागोको विस्तारमा एक अर्कामा फैलिने र खुम्चिने अवस्था रहेका छन् । एउटी फैलिदा अर्की समेटिन्छिन् । यसै अनुसार वस्त्र बुनाइको प्रक्रिया चल्दछ । ताना र बानामा पुरुष स्त्रीको समान सहभागितामा वस्त्रनिर्माण गरिने उल्लेख गरिएको छ । पुमान् एतद् वयति । अथर्ववेद् १०।४।४३। बुनाइको काम स्त्री र पुरुष दुवै मिलेर गर्दथे । श्रम र सीपको महत्व समान रहेको थियो । श्रम सीप र शिल्पस्वात्तता, वेदका हजारौं शाखाअनुसार गुरुकुलीय परम्पराअनुसार वस्त्रनिर्माण गर्नलाई शिल्प स्वात्तताको विधान गरिएको ज्ञात हुन्छ ।
वैदिक यज्ञयागादिमा कुशद्वारा बनाइएको कपडा लगाउने विधानको वर्णन गरिएको छ । वेदमा तीन किसिमका तन्तुबाट वस्त्र निर्माण गर्ने गरिएको उल्लेख छ । सूती तथा ऊनका वस्त्रहरूको प्रयोग महत्वपूर्ण रहेको छ । यजुर्वेदमा ‘रजयित्री’ भन्ने शब्दको प्रयोग भएको छ । रजयित्री भनेको वस्त्रलाई सुन्दर रूपले रंगाउने कला हो । गुरुकुलमा सिकाइने ६४ कलाअन्तर्गत वस्त्र बुन्ने र रंगाउने कलाको ज्ञान प्रदान गरिन्थ्यो । मन्त्रमा वस्त्रलाई मनुजात भनेर वर्णन गरिएको छ । मष्ट, मष्टबाट मरूत् मरूत्बाट मनुष्य, मनुष्यबाट मानुष र मानुषबाट मानिस, मानिसबाट म्यानसम्मको यात्रा भएको छ । मनुद्वारा आविस्कृत वस्त्रलाई मनुजात भनिएको छ ।
तुनाको प्रयोग तानबाट उत्पन्न हुने लामो तन्तुद्वारा निर्मित सुन्दर नागलताको आकृति जस्तो बनाउने विधान गरिएको छ । अथर्ववेदमा वर्णन भएअनुसार राजा सोमलाई राज्याभिषेकमा धारण गर्न लागि वृहस्पतिले सुन्दर वस्त्र दिनुभयो । ‘वृहस्पति प्रयच्छत् वास एतद् सोमाय राज्ञे’ –अथर्ववेद २।१३।२ । वृहस्पतिले राजा सोमलाई राज्याभिषेकका निम्ति सुन्दर तुनाले युक्त वस्त्रहरू लगाइदिनु भयो । वेदमा कार्पास शब्दको प्रयोग भएको छ । कपासबाट बनेको वस्त्रको सुन्दरताको वर्णन छ । अथर्ववेदमा तुल शब्दको प्रयोग भएको छ । तानबाट तुल, तुलबाट तना, तनाबाट तुना हुँदै तुनाले टाँकसम्म बनेको छ ।
रेशमी वस्त्र, ऊनी वस्त्र, कार्पास वस्त्र, कौश वस्त्र, तन्तु वस्त्र आदि विभिन्न वस्त्रहरूको चर्चा पाइन्छ । कुश, दूवो, अल्लो, भोर्ला, दर्भ आदिको तन्तुबाट सुन्दर वस्त्र बनाउने विधान रहेको छ । हिमाली भेगको मेष (भेडा) आदि पशुको रौंबाट ऊर्ण (ऊन) प्राप्त हुने उल्लेख छ । ऊर्णायु शब्दबाट ज्ञान हुन्छ कि ऊनबाट बनेका सुन्दर वस्त्रहरू लगाएर संगीतको सप्तस्वरमा गायन प्रस्तुत गर्ने विधान रहेको पाउँछौं । सामवेदको गानका निम्ति ऊर्णायु वस्त्रको विधान गरिएको पाइन्छ ।
‘… वासो अग्ने विश्वरूपम् …’ सुन्दर वस्त्र निर्माण, धारण तथा (विश्वरूपम्) हजारौं रङ्गमा रङ्ग्याउने विधानको वर्णन रहेको छ । हजारौं प्रकारका रङ्ग र रङ्ग्याउने कला जान्नेलाई विश्वरूपा भनिएको छ । महाबनमा प्राप्त हुने बनौषधि, हरितिक्त, इन्द्रजौ, हर्राे, भकम्ली, सागुन, सौर, मजिठो, भलायो, रक्तचन्दन, त्रिफला, श्वेतचन्दन, जटामशी आदि विभिन्न वृक्षवनस्पतिका बोक्रा, फलबाट वस्त्र रङ्ग्याउनका लागि प्रयोग हुने द्रव्य (रङ्ग) प्राप्त गर्ने विधान अथर्ववेदमा वर्णन भएको छ ।
सुन्दर वस्त्रबाट नागरिकले सुन्दर गृहस्थजीवन प्राप्त गर्ने, शितलता, उष्णता, लज्जारक्षण, शरीर अलङ्कार आदिका निम्ति वस्त्र धारणको विधान रहेको छ । यिनै सुन्दर वस्त्रबाट सैन्य पोशाक वा बर्दी बनाउनुपर्ने उल्लेख छ । अहिले विश्वभरि सेनाले प्रयोग गर्ने बर्दीको रङ्ग्याउन बर्राेबाट मात्रै सम्भव छ । बर्रोबाट रङ्गबाट रङ्ग्याएकोले सैन्य पोशाक नै बर्दी हो ।
याज्ञवल्क्य, अंगिरा, वशिष्ठ, भारद्वाज, मुद्गल, काश्यप, अत्रिआदि ऋषिहरूले रङ्हरूको सम्बन्धमा वेदका सुक्तहरूमा वर्णन गरेका छन् । चौरासी सिद्ध नवनाथहरूमध्ये हजारौं वर्षपहिले गुरूगोरखनाथले सिद्ध प्रयोग गरेको रङ, हर्राेबाट बन्ने भैरवकालीको रङ कालो, वज्रवृक्ष (सिउँडी)को दूध सेतो, सैनिक वस्त्रमा (बर्दी) मा प्रयोग हुने रङ हर्राेरको रङ हो । कालो रङ कालीको प्रतीक हो । रक्तचन्दनको रातो, श्वेतचन्दनको सेतो रङ र दूबोको रङबाट हरियो रङ बनाउने विधान पाइन्छ । दर्भबाट वस्त्र बनाउने रंगाउने र धारण गर्ने विधान रहेको छ ।
अधोवस्त्र (नाभीभन्दा मुनि धारण गरिने), अधिवास वस्त्र (कमरभन्दा माथि लगाइने वस्त्र), अधिवस्त्र (रेशम ऊन आदिबाट बनेको स्त्रीहरूले प्रयोग गर्ने वस्त्र), उपवासन (स्त्रीहरूले ओढ्ने वस्त्र), सहस्र पर्याणाहन (हजार प्रकारका रंग भएका वस्त्र, जसलाई विश्वरूप पनि भनिएको छ), अत्क (शरीरमा टमक्क मिलेको सिलाएको वस्त्र जसलाई व्युत पनि भनिएको छ), द्रापि (तुना भएको सुन्दर लामो वस्त्र, जसलाई हिरण्य द्रापि, रजत द्रापि, लोह द्रापि, काष्ठ द्रापि आदि भनिन्छ), पेशस् (बेल, नासपाति र मयलको रङ्गबाट रंगाएको वस्त्र जसलाई मयलपोश भनिन्छ) सुन्दर नर्तकीले धारण गर्ने पेशसकारी र पुरुषले धारण गर्ने मयलपोश, नीवि (पुरुषले लगाउने लंगौटी र स्त्रीले लगाउने नीविभार्य), उष्णीष (सयौं प्रकारका पगरी), उपानहौ–उपानह (सयौं प्रकारका जुत्ता) । लँगौंटीबाट लिङ्गेरीसम्म बनेको छ ।
प्रसङ्ग बदलौं, नेपालमा हजारौं–हजार वर्षदेखि वसावास गर्ने सनातन वैदिक परम्पराका उपासकहरूको गौरवमय इतिहास रहेको छ । सनातन हिन्दू, बौद्ध, तथा अन्य क्षेत्रीय जातजातिका पनि आ–आफ्नै वस्त्र परम्परा रहेका छन् । तिनका आ–आफ्नै मौलिक पहिरन रहेका छन् । ती सवैको आधार हाम्रा आफ्ना मौलिक शिल्प र स्रोत वैदिक वस्त्र विधान नै हो । हामी नेपाली मात्रको मौलिक वस्त्र परम्परा विस्थापित हुँदा ती वस्त्र बनाउने राष्ट्रिय उद्योग तथा उद्योगसँग सम्बन्धित मौलिक शीप विस्थापित होलान् भन्ने सोचेको पाइन्न ।
नेपाली जनसमुदायका मौलिक वस्त्र परम्पराको संरक्षण गर्नेभन्दा आयातीत ‘टाईसुट’को प्रवद्र्धन गर्ने सोचले नेपाली जनसमुदायका आफ्ना मौलिक परम्परा जसले हामीबीचको ‘अनेकतामा एकता’लाई कमजोर पारिरहेको छ । हाम्रा वैदिक मौलिक दर्शन, संस्कृति, सभ्यताको एकीकृत अभ्यासको पम्परा, एक–आपसमा मिलजुलका साथ बसोबास गरेको नेपाली समाजको परम्परागत आधारलाई टेवा दिँदै आएको मौलिक वस्त्र परम्परालाई ध्वस्त गरेर नेपाली राष्ट्रिय एकता कसरी प्रवद्र्धन गर्न सकिन्छ र ?