अमला

हन्ति वातं तदम्लत्वात् पित्तं माधुर्यशैत्यतः ।
कफं रुक्षकषायत्वात् फलं धायास्त्रिदोषजित् ।।
हरीतक्यामलकविभीतकानि त्रिफला ।
त्रिफला कफपित्तघ्नी मेहकुष्ठ विनाशिनी ।।
जात्यामल कुमुस्तानि तद्धन्ववय वासकम् ।
विवद्वदोषों ज्वरितः कषायं सगुणं पिवेत् ।।
आमलकीहरीतकी पिप्पल्यश्चित्रकश्चेति ।
आमलक्यादिरित्येष गणः सर्वज्वरापह ।।
अम्लं समधुरं तिक्तं कषायं कटुकं सरम् ।
चक्षुष्यं सवदोषघ्नं वृष्यमामलकी फलम् ।।

परिचय ः जडीबुटीहरूको महवको बारेमा चर्चा गर्दा अमलाको चर्चा अनिवार्य देखिन्छ । किनकि अमला विभिन्न रोगहरूको विनाशकका रूपमा हामीमाझ परिचित छ । अमला नेपालका सबैजसो जङ्गल या उद्यान, बगैँचामा सर्वसुलभ छ । यो ४५०० फीटको उचाइसम्म अवस्थित हुन्छ । यसका पातहरू अमिलीको वृक्षका जस्तै हुन्छन् । यसका पात भगवान् शिवजीलाई चढाइने पनि गरिन्छ । यसको दैनन्दिन प्रयोगले दीर्घायु प्राप्त हुनुका साथै वृद्धावस्थालाई टाढै राख्न सकिन्छ । जसबाट सधै“ किशोरावस्थाको अनुभव गर्न सकिन्छ । यसैले आयुर्वेदमा अमलालाई अमृतफल अथवा धात्रीफल भन्ने गरिएको छ । अमला दुईप्रकारको हुन्छ ः

१) जंगली अमला ः यो अमला सानो र केही कठोर हुन्छ ।
२) ग्राम्य अमला ः यो अमला जंगली अमलाको अनुपातमा ठूलो र केही मोटो अनि गुदीयुक्त हुन्छ ।

अमलाको रासायनिक संगठन
अमलामा भिटामिन सी प्रचूरमात्रामा पाइन्छ । हल्का पहँेलो खालको अमलामा भिटामीन अत्यन्त धेरै पाइन्छ । अमलामा गैलिक एसिड, टनिक एसिड, निर्यास, मीठोपन, एल्ब्युमिन, सेल्युलोज एवं क्याल्सियम प्रशस्त रूपमा पाइन्छ । सय ग्राम अमलाको रसभित्र पाइने रासायनिक संगठनको मात्रा निम्नानुसार रहेको छ ।
जलको मात्रा ८१.२ मि.ग्रा.
प्रोटिन ०.५ मि.ग्रा.
वसा ०.१
फास्फोरस ०.२
क्याल्सियम ०.५
लोह १.२ मिलीग्राम
निकोटिनीक एसिड ०.२

अमलाको औषधीय प्रयोगलाई बूँदागत रूपमा देखाउन सकिन्छ ः
१) २०–५० ग्राम अमलाको धुलोलाई दुईघण्टासम्म आधा(लिटर पानीमा राख्ने र त्यसलाई नरम कपडाले छानेर दिनमा तीनपटक आँखामा राखियो भने नेत्ररोग ठीक हुन्छ ।
२) अमलाको रस १० ग्राम, पाकेको केरा एउटा, मह ४ ग्राम र दूध २५० ग्राम गरी सबैलाई एकत्र गरेर सेवन गर्दा सोमरोग नष्ट हुन्छ ।
३) अमलाको रस २० ग्राममा एक ग्राम जिराको धूलो मिलाएर दिनमा दुईपटक सेवन गर्नुहोस् । यदि ताजा अमला सम्भव छैन भने सुकेको अमलाको धूलो २० ग्राम रातिमा भिजाएर बिहान सेवन गर्नुहोस् । अनि, बिहान भिजाएर बेलुकीको समयमा रसलाई छानेर सेवन गर्नुहोस् । जसबाट पित्तप्रकोपबाट हुने रक्तस्रावको निको हुन्छ ।
४) ५–६ वटा अमलालाई पिसेर लिङ्गमा लगाउनाले मूत्राघात निको हुन्छ ।
५) अमलाको २० मिलीलिटर रसमा ५ ग्राम सख्खर (भेली) र १० ग्राम महलाई मिलाएर पिउनाले योनीदाहसम्बन्धी रोग निको हुन्छ ।
६) अमला, बेसार र मोथे ५०–५० ग्राम पानीसँग उमालेर २ चम्चा मह मिलाएर दिनमा ३ पटक पिउनाले वातजनित रोग शान्त हुन्छ ।
७) अमलाको २–५ ग्राम धूलो (चूर्ण)लाई १ चम्चा महसँग मिलाएर बिहानको समयमा खालीपेट खानाले पित्तशूल शान्त हुन्छ ।
८) १२५ मिलीलिटरदेखि २५० मिलीलिटर लौहभस्मका साथ अमलाको सेवन गर्नाले रक्ताल्पता हुने समस्या नष्ट हुन्छ ।
९) अमलाको २–५ ग्राम धूलो (चूर्ण)मा एक गिलास पानीसँग मिलाएर सेवन गर्ने र त्यही पानीले मूत्रेन्द्रियमा पिचकरी दिँदा मूत्रेन्द्रियसम्बन्धी जलन शान्त हुन्छ । साथै यदि मूत्रेन्द्रियमा घाउ आएर पीप पनि बगेको छ भने पनि ठीक हुन्छ ।
१०) अमलाको रस, मह, गाईको घ्यु गरेर सबैलाई मिलाएर सेवन गर्नाले नेत्रको परेलीमा आउने रोगहरू नष्ट भएर जान्छन् ।
११) यदि धारिलो हतियारले शरीरको कुनै भागमा काट्यो र धेरै रक्तस्राव हुनथाल्यो भने तत्काल अमलाको ताजा रस निकालेर घाउमा लगाइदिनाले रक्तस्राब हुन कम हुन्छ ।
१२) शरीरमा फोका, खटिरा, बिँबिराआदि आएका छन् भने अमलाको रस लगाइदिनाले निको भएर जान्छन् ।
१३) अमलाको गेडालाई आगोमा जलाएर भस्म गराउनुहोस् । र, त्यसमा नरिवलको तेल मिलाएर लुतो (सुकेको या नसुकेको) मा लगाउनाले लुतो ठीक भएर जान्छ ।
१४) अमलाको १०–२० ग्राम रसमा १० ग्राम घ्यु मिलाएर दिनमा दुईपटक सेवन गर्नाले विसर्प रोग नष्ट हुन्छ ।
१५) अमलाको धूलो ३–६ ग्रामलाई २ चम्चा मह र १ चम्चा घ्युका साथ दिनमा दुईपटक सेवन गर्नाले शरीर फुर्तिलो र स्वस्थ रहन्छ ।
१६) अमलाको धूलोलाई रातको समयमा घ्यु, मह अथवा पानीसँग मिलाएर सेवन गर्नाले आँखा, कान र नाक आदि इन्द्रियहरूको बल बढेर जान्छ । साथै जठराग्नि पनि तेज हुन्छ र यौवन प्राप्त भएको अनुभूति हुन्छ ।