नववर्ष– नुतन, उत्साह, उमङ्ग र उत्सवको पर्व हो । कृषि, वनस्पति, रहनसहन र मानवीय जीवनसँग अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । वर्षको नव वर्षलाई मनाइन्छ । प्रकृति र मानव जीवनको सम्बन्धले परिभाषित गर्दछ— नुतन वर्षलाई । सौर्यमासको आरम्भिक चरण, नवसिर्जना, संकल्पका साथ नयाँ कार्ययोजना ।
नवीनताले ओतप्रोत प्रकृतिको हरियाली, कोइलीको मधुर ध्वनि, वृक्ष वनस्पतिहरूमा नयाँ पालुवा, वसन्त ऋतुको सेरोफेरोमा पर्दछ वसन्त ऋतु । चैत्र शुक्ल प्रतिपदा सृष्टिको आरम्भ दिन । सृष्टिको पहिलो विहानी चैत्र शुक्ल प्रतिपदा चन्द्रमास अनुसार नवसंवत्सरको आरम्भ विन्दु । मानवले धर्तीमा चेतनाको साक्षात्कार गरेको प्रत्युषको उषाकाल । पृथ्वीको उत्पत्ति १४ अरव वर्ष प्राचीन, वैदिककालको गणना अनुसार मानवीय सृष्टिसंवत् १ अर्व ९५ करोड ५८ लाख ८५ हजार १ सय १७ वर्ष पार गरेर १८ औं वर्षको प्रवेशको पहिलो बिहानी । पञ्चाङ्गको काल गणना, तिथि, शुक्लपक्षको १५ र कृष्णपक्षको १५ आमावश्य सहित दुई पक्षको सन्तुलन, अँध्यारो र उज्यालोको सन्दर्भ रहेको छ । नक्षत्रहरू आकाशमा नित्य प्रकाशित ताराहरूको समूह अश्विनी, भरणी, कृतिका हुँदै रेवतीसम्मको २८ नक्षत्र खगोलीय वृत्तमा सूर्यका वरिपरि परिभ्रमण गर्ने ग्रहपिण्डहरु— पृथ्वी, चन्द्र, मंगल, बुध, वृहस्पति, शुक्र, शनि, राहु, केतु सहित अरुण, वरुण, यम, आकाशगंगा सहित असंख्य तारामण्डल । सात वारहरूमध्ये सृष्टिको पहिलो प्रारम्भको बार सोमबार । २७ वटा योग– आनन्दादि योग, विष्कुम्भादी योग, वालवआदि एकादश करणको विधान गरिएको छ ।
‘पञ्चसंवत्सरमयजगत्’ –वेद
वैदिक कालमा पाँच संवत्सरको विधान गरेको पाइन्छ । पाँच संवत्सरको आधारबाट कालगणना गर्ने विधान वैदिक पद्धति नै हो । आधुनिक समयमा षष्ठीसंवत्सरको विधान पनि गरिएको छ । प्राचीनतम कालगणनाको विधानका सन्दर्भहरू विभिन्न संकेतका रूपमा प्राप्त गर्न सकिन्छ । प्राचीन देश चीनको कालगणना ९ करोड ६० लाख २ हजार २ सय ९४ वर्ष प्राचीन मानिन्छ । खताई कालगणना ८ करोड ८८ लाख ३८ हजार ३ सय ६७ वर्ष पुरानो मानिन्छ । मिश्र देशको कालगणना २ लाख ७६ हजार ५० वर्ष पुरानो मानिन्छ ।
पर्सियाबाट शुरु भएको पारसी कालगणना १ लाख ८९ हजार ९ सय ७४ वर्ष पूर्वदेखिको मानिन्छ । तुर्की, ईरानी र यहुदी कालगणना प्रारम्भ महाभारत युद्धदेखि क्रमशः २५२६, ९२४ र ६८० वर्ष पूर्वसम्म सीमित मानिन्छ । युनानी कालगणना ३ हजार ५ सय ८९ वर्ष, रोमन कालगणना, २ हजार ७ सय ६७ र ईश्वी संवत् २०१७ मानिएको छ । हिजरी संवत् १४ सय ३६ आदि अत्यन्त अर्वाचिन कालगणनाहरू पाइन्छन् । त्यसमा नेपाल संवत् ११३७, शकसंवत् १९३८ तथा नेपालमा प्रचलित बिक्रम कलिगत संवत् हाम्रो प्राचीन र मौलिक हो– पाँच हजार एक सय बीस वर्ष ।
ज्योतिष शास्त्र अनुसार पृथ्वीसहित, चन्द्रमा, मंगल, बुध, वृहस्पति, शुक्र, शनि, राहु एवम् केतु अन्य असंख्य ग्रहताराहरु स्व–स्व वृत्तमा परिक्रमा गर्दै सौर्यपरिवारका ग्रहहरुले सूर्यको परिक्रमा गर्दछन् । पृथ्वीले सूर्यको चारैतर्फ वृत्ताकार अवस्थामा ३६५ दिन ६ घण्टा १९ सेकेण्ड घुमिसक्छ । यो वृत्ताकारलाई १२ भाग विभाजन गरी मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ, मीन संक्रान्ति निर्माण हुन्छन् । सौर्य मास पनि १२ महिनाको हुन्छ । जसरी पृथ्वी सूर्यको परिक्रममा गर्न १२ महिना लाग्दछ, त्यसैगरी पृथ्वीको उपग्रह चन्द्रमाले पृथ्वीको वरिपरि एक परिक्रमा गर्न २७ दिन ८ घण्टा, १५ सेकेण्ड लाग्दछ । चन्द्रमाले पृथ्वी वरिपरि घुम्ने २७ दिनलाई २७ भाग विभाजन गरी प्रत्येक भागको नक्षत्र निर्माण हुन्छ । चन्द्रमा जुन नक्षत्रको नजीकबाट परिक्रमा गर्दछ, त्यसअनुसार, पृथ्वीमा चान्द्रनक्षत्र दृष्टिगत हुन्छ ।
औंशी र पूर्णिमाको अन्तर १५–१५ दिनको हुन्छ । चान्द्रमास अनुसार कृष्ण प्रतिपदाबाट औंशीसम्म १५ दिन सूर्य र चन्द्रमा वीचमा पृथ्वी आउँदछ । त्यतिखेर सूर्यको प्रकाश सिधै पृथ्वीतिर फर्केको हुन्छ । त्यो प्रकाश प्रत्यक्ष रुपमा चन्द्रमा पर्दा पूर्णिमा हुन्छ त्यही प्रकाशलाई पृथ्वीले सम्पूर्ण रुपमा छेक्दा पृथ्वीमा आमवश्य हुन्छ । चन्द्रमा पूर्ण प्रकाशित भएपछि चन्द्रमा र सूर्य दुवै पृथ्वीको विपरित दिशामा पुग्दछन् ।
हाम्रो परम्परा अनुसार महिनाको नाम नक्षत्र अनुसार नै राखिएको हो । पूर्णिमाको दिन जुन नक्षत्र हुन्छ त्यो महिनाको नाम नै त्यही नक्षत्रअनुसार महिनाको नामाकरण हुन्छ । जस्तै– चैत्र पूर्णिमाको दिन चित्रा नक्षत्र, वैशाखको विशाखा नक्षत्र, ज्येष्ठको ज्येष्ठा, आषाढको पूर्वाषाढा, श्रावणको श्रवण, भाद्रको पूर्वभाद्रपद, आश्विनको अश्विनी, कार्तिकको कृतिका, मंगसीरको मृगशिरा, पौषको पुष्य, माघको मघा, फाल्गुनको पूर्णिमाको दिन उत्तर फाल्गुनी नक्षत्र पर्दछ ।
यसैको आधारमा अन्तरिक्षका सूर्य, चन्द्रमा सहित अन्य ग्रह र नक्षत्रहरुको चाल, गति र प्रकाशको गणनात्मक जानकारी प्राप्त गरिन्छ । हाम्रो वार्षिक पञ्चाङ्गको तिथि, वार, नक्षत्र, योग, करण, मुहुर्त आदिको गणना पनि यही सिद्धान्तअनुसार गरिएको छ । आमवश्य, पूर्णिमा सहित तिथिपर्व सौर्य संक्रान्ति, मसान्तको जानकारी पनि यसै गणनाअनुसार प्राप्त गरिन्छ ।
युरोपेली विद्वान् सर डब्ल्यु जोन्सले पूर्वीय यही गणनालाई स्वीकार्दै भनेका छन्– ‘पूर्वीय वैदिक गणनाबाट थाहा हुन्छ त्यो कति प्राचीन, विज्ञानसम्मत् र तथ्यमा आधारित हो भनेर ।’ संसारभरि जति पनि गणनाहरु महिनाका नामहरु रहेका छन् जनमवारबाट जनवरी हुँदै सप्तमवारबाट सेप्टेम्वर, अष्टमवारबाट अक्टुवर, नवम्वारबाट नोभेम्वर, दशमवारबाट दिसेम्वर महिना बनेको छ । जवकि हाम्रो दशौं महिना माघ हो । अंकको गणनामा पनि त्रिबाट ‘थ्री’, पञ्चमबाट ‘फाइव’, षष्टबाट ‘सीक्स’, सप्तबाट ‘सेभेन’ अष्ट ‘अइट’ नव ‘नाइन’ यसरी नै अंकको गणना पनि हाम्रै वैदिक गणनाबाट नै अंग्रेजीतिर गएको हो । अंग्रेजी भाषाका शब्द तरु – ‘ट्री’, हस्त – ‘ह्याण्ड’, मुखम् – ‘माउथ’, द्वार – ‘दोर’, दुहितृ – ‘डटर’, मातर – ‘मदर’ आदि । अंग्रेजीमा जति पनि धातु र शब्द बनेका छन्, सवैको आधार भनेको संस्कृत भाषा नै हो ।
प्रसंग वदलौं,
हालै प्रकाशित “बे्रकिङ्ग नेपाल” पुस्तकमा हेरे पुग्छ, विगत तीन–चार सय वर्षदेखि वैदिक सनातन धर्म, संस्कृति, परम्परा समाप्त गर्नका निम्ति कति फिरङ्गी विचारकहरुले कसरी प्रयास गरेका रहेछन् र गरिरहेका छन् । देशमा चलाइएका जातीय राज्य, धर्मनिरपेक्षता, आत्मनिर्णयको अधिकार यसका पछाडिका निहित उद्देश्य के रहेछन् छर्लङ्ग हुन्छ । लोभलालचमा परी ईशाई धर्मको पछि लाग्ने ईश्वी सम्वत्लाई आयात गर्ने बुज्रुकहरु कसरी आफ्नो मूलधर्म छोडेर धागो चुँडिएको चंगा बन्न गइरहेका छन् भन्ने यसबाट बुझ्न सकिन्छ । एसियामा चलाइएका नस्लवाद, जातीयता, क्षेत्रीयता, विखण्डनको वीउ ईश्वी सम्वत्को माध्यमबाट आयात गरिएको हो । ईश्वी सम्वत्भन्दा प्राचीन सृष्टि सम्वत्, शालिवाहनीय शक सम्वत्, विक्रम सम्वत्, बौद्ध सम्वत्, जैन सम्वत् कलिगत सम्वत्, वृहस्पति सम्वत् आदि प्रचलित सम्वत्हरुलाई विर्सदै आफ्नो मूल मान्यताहरुलाई विस्मृत गर्दै तिलाञ्जलि दिन तत्पर बनाइँदैछ समाजलाई ।
वैदिक कालगणना अनुसार करोडौं वर्ष पुरानो हाम्रो परम्परा, मूल्य–मान्यता, आदर्श र सामाजिक सदाचार निरन्तर शाश्वत् सनातन रूपमा गतिशील छ । यस क्षेत्रमा विभिन्न व्यवस्थाहरू आए, गए, अस्ताए तर नेपाली समाजले आफ्नो संस्कार, सभ्यता, सामाजिक मान्यताहरू कहिल्यै छोडेको छैन । २१ औं शताब्दीको हुँकार विभिन्न समयमा सुनिने गरिन्छ । के २१ सय वर्षभन्दा अघि समाज नै थिएन ? सामाजिक मान्यताहरू थिएनन् ? २१ औं शताब्दीको अभिव्यक्ति ईशामसिहाको आगमनपछि हो र ? तसर्थ २१ औं शताब्दी होइन, हामी लाखौं शताब्दीदेखि सामाजिक मान्यताहरू र संस्कारलाई धारण गरेर गतिशील छौं । विज्ञान र प्रविधिको विकास वैदिककाल, उपनिषद्काल र महाभारतकाल र पुराणकालमा पनि भएकै हुन् । हाम्रा प्राचीन ऋषिमहर्षिले वैज्ञानिक अनुसन्धान उत्कर्षमा पु¥याएकै हुन् । हाम्रा वैदिक ऋषिहरुले गरेका तथ्यगत र प्रमाणमा आधारित प्रामाणिकता आधारहरु मन्त्र, यन्त्र, तन्त्रका माध्यमबाट संसारभरि फैलिएकै छ ।
आफ्ना मौलिक कला, साहित्य, खेतीपाती, शिल्पविज्ञान, खानपान, जीवननिर्वाहका साधन, सामाजिक रीतिथिति तथा चालचलन, गीत–संगीत, खेलकूद, निवास–आवास, शासन–व्यवस्था, नीतिनियम तथा शिक्षा व्यवस्थाको व्यवस्थापन, नीति, धर्मशास्त्र, राजधर्मको शिक्षा, साधना पद्धतिको प्रयोग आदि विषयहरूको शुभारम्भ वसन्त ऋतुमा शुभदायक मानिन्छ । वैदिक पद्धतिअनुसार चारै वेदका मन्त्रहरुमा गुमेको राज्य प्राप्तिको साधना, मन्त्र, तन्त्र यन्त्रको प्रयोग, राज्याभिषेक, राजदण्ड र मुकुटको निर्माण, राज सिंहासनको व्यवस्थापन वैदिक शासन व्यवस्थालाई आत्मसात् गर्ने पद्धतिको आरम्भ नै नवसंवत्सर हो । नवरात्र, शक्तिको पूजा र उपासना गरी दैविक शक्ति आर्जन गर्ने, राजा र सम्पूर्ण प्रजाको एकीकृत साधनाबाट प्राप्त राज्यलाई व्यवस्थित गर्दै शास्वत् मान्यताहरु स्थापित गर्नु पनि नवसंवत्सरको सन्देश हो ।
संसारभरि हातहतियारको द्वन्द्व, सामाजिक न्यायव्यवस्था र अन्यायपूर्ण र असहिष्णु व्यवस्थावीचको द्वन्द्वहरू पनि भइरहेकै छन् । जातीय, क्षेत्रीयताका नाममा धेरैपटक महायुद्धहरू भएका छन् । हातहतियारको दुरुपयोग, मानवीय मूल्य मान्यतालाई हानि पु¥याउने खालका द्वन्द्वहरूले समाजलाई खण्ड–खण्ड बनाएको छ । विकास, उत्कर्ष र अधिकारप्राप्तिका नाराले समाजलाई विभिन्न वाद र विवादमा विभाजित गरेको छ । मानवीय अस्तित्व नै मेटाउने कृत्रिम र अप्राकृतिक द्वन्द्वहरू संसारभरि नै प्रेषित गरिँदैछ ।
धर्म र वादका नाममा, जात र जातिका नाममा, क्षेत्रीयता र सामाजिक द्वन्द्व, काला र गोराको लडाईं, पूर्व र पश्चिमको लडाईँ, उत्तर र दक्षिणको युद्ध, समाजलाई खण्ड–खण्ड बनाउन प्रोत्साहन गरिरहेकै छन् । विकसित र अल्पविकसित वा सभ्य र असभ्यताका नाममा कृत्रिम द्वन्द्व बढाउनेहरू नित्य लागिपरेका छन् । सामाजिक सदाचार र परम्परागत सामाजिक व्यवस्थाका नाममा संसारभरि योजनाबद्ध जातीय र धर्मयुद्ध चर्काइँदैछ । समाजलाई भलो गर्नुभन्दा पनि कुभलो चिताउनेहरू नित्य गतिशील छन् । संसारभरि कुनै अमुक धर्मको प्रचार गर्ने नाममा स्थानीय प्रामाणिक परम्परागत लोप गराउने, अधिकार प्राप्तिका नाममा लोभलालचको खेती गरी सामाजिक द्वन्द्व वृषवृक्षको पक्षपोष्ण गरिरहेकै छन् ।
अन्त्यमा,
नेपाली समाजले कुलधर्म, मूलधर्म र राष्ट्रधर्म छोडेको खण्डमा नेपालको अस्तित्व, नेपाली समाजका मूल्य–मान्यता र आदर्शहरु, हाम्रो सामाजिक सद्भाव विग्रनेछ ।
सवैको कल्याण होस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here