वास्तुका केही नियमहरू

वास्तुका केही नियमहरू
वैदिक, पौराणिक कालमा निर्माण शास्त्रको महत्व अति विशिष्ट थियो । ठूला–ठूला भवन, राजप्रसाद, किल्ला, विद्यालय, देवालय वा मन्दिर, तलाउ, कुवा, वागबगैंचा आदि निर्माण गर्दा, वास्तुशास्त्रका नियमअनुसार गरिन्थ्यो । सनातन निर्माणको युग, ढुंगे युग, स्वर्णयुग, ताम्रयुग, लौहयुग, मृत्तिका युग, काष्ठयुग आदि युगहरुमा निर्माणको महत्व विशिष्टखालको रहेको थियो । त्यसपछिको केही समय भवन बनाउने कलाअन्तर्गत सुन्दरतालाई मात्र ध्यान दिने प्रचलन बढेर गयो । तर, आधुनिक समयमा वास्तुशास्त्रको पुनर्जागरण भएको छ । यहाँ वास्तुसम्मत भवन अथवा आवास निर्माण गर्दा ध्यान दिनुपर्ने केही नियमहरु बुँदागत रुपमा प्रस्तुत गरिन्छ ।
कुनै पनि भूखण्डको परीक्षणका लागि विशेष गरी पाँच वस्तुलाई ध्यान दिनुपर्दछ— पृथ्वी, जल, वायु, अग्नि र आकाश । सौरमण्डलको प्राकृतिक ऊर्जा दिने यी पाँच तत्व कुन पनि प्रकारबाट दोषरहित भएको हुनुपर्दछ । पञ्चतत्वमा दोष र विकृति उत्पन्न भए वास्तुको प्रकोप त्यहाँ बस्ने जनसमुदायलाई पर्दछ । प्राकृतिक ऊर्जाको सन्तुलन र अधिकतम सकारात्मक स्रोतको उपयोग गरेर जीवनमा सुख, शान्ति, समृद्धि प्राप्त गर्नु नै वास्तुशास्त्रको प्रमुख लक्ष्य हो ।
कुनै पनि आवासस्थलमा बाटो टुङ्गिएको अन्तिम भवन खरिद गर्नु वा त्यस्तो घडेरीमा भवन निर्माण गर्नु उपयुक्त हुँदैन । सडक किनारामा बनेको र एक्लो भवन पनि आवासका लागि शुभ मानिँदैन ।
कुनै पनि प्रयोजनका लागि किन्ने घडेरी अथवा स्थानलाई किन्नुअघि आफूले राम्रोसँग नापजाँच गरेर किन्नुपर्छ । किन्ने व्यक्तिको राशि, नक्षत्रअनुसार भूमिको माटोको रङ, वास्तुसम्मत दिशा एवम् नियमसँग मेल खाने घडेरी छान्नुपर्छ ।
त्रिकोण परेको भूमि घडेरीको लागि राम्रो मानिँदैन । एकातिर अत्यधिक चौडा अथवा अर्कातिर अति धेरै चुचो भएर गएको भूमि वास्तुसम्मत दृष्टिकोणले अशुभ मानिन्छ । अतः यस्तो घडेरी पनि किन्नु हुँदैन ।
प्राकृतिक प्रकाश आउने दिशा, स्वच्छ वायु वहने स्थान, मुख्य मार्ग, उपमार्ग, अथवा सिधा, फराकिलो बाटो भएको र आफ्नो नाम र राशिअनुसार मेल खाने भूमि घडेरीको लागि उपयुक्त हुन्छ ।
प्रस्तावित घडेरी रहेको भूमिमा कुनै पनि कुना वा आग्नेय कोणमा रुखको जरो वा पानीको स्रोत भएको हुनुहुँदैन ।
बिजुलीको पोल, तथा ट्रान्समिटर लाइन वा खम्बाको नजीक रहेको घडेरीको आग्नेय कोणमा शुभदायक मानिन्छ, अन्य कोण वा दिशामा रहेको घडेरी उपयुक्त हुँदैन ।
सरकारी गुठी, गौचरन वा सार्वजनिक जग्गा मिचेर घर बनाउनुहुँदैन । कुनै मन्दिर देवालय ठूलो रुखहरु हटाएर घर निर्माण ग¥यो भने त्यहाँ बस्ने व्यक्ति सर्वाधिक तनामा रहने गर्दछ । समयुक्त जग्गा, डुवान हुनसक्ने खतरायुक्त भूमि र वर्षाको समयमा पानी जम्ने स्थान कहिल्यै चयन गर्नुहुँदैन ।
सकेसम्म जाडोयाममा सूर्यको किरण वा प्रकाश प्रशस्त मात्रामा आउने र उज्यालो ठाउँको भूमि चयन गर्नु आवश्यक हुन्छ । घर बनाउँदा पूर्वतिर फर्केको द्वार बनाउनुपर्दछ ।
प्रस्तावित घडेरीको स्थानमा कुनै अपराधजन्य घटनासँग सम्बन्धित वा जोडिएको वस्ती हुनुहँुदैन ।
कार्यालयको लागि घडेरी किन्दा अन्डरग्राउण्ड, माटोको सतहभन्दा मुनिको ढोका तथा मुख्य द्वारको तल जति नै ठूलो स्थान भए पनि उपयुक्त हुँदैन ।
घरको नक्सा बनाउनुपूर्व मुख्य द्वारदेखि सडक या बाटोसम्मको बीचमा मुख्यद्वारको तल अगाडि कुनै पनि अवरोध हुनुहुँदैन । सूर्यको प्रकाश सही रुपमा पर्नुपर्दछ । बगैँचा आदि बनाउँदा घरको मुख्य द्वारको अगाडि अथवा सामुन्ने अग्ला वनस्पतिहरू रोप्नुहुँदैन ।
प्रस्तावित घडेरीमा नक्सा बनाउँदा घरको अगाडि गहिरो खाडल र अग्लो पर्खाल हुनुहुँदैन । भवन तथा निर्माणस्थलको पूर्व, पश्चिम, उत्तर र दक्षिण कुनै पनि दिशामा कुनै पनि प्रकारको वास्तुदोष हुनुहुँदैन ।
जेनेरेटर, ट्रान्समिटर, बिजुलीघर आदिको स्थापना जहिले पनि पूर्व–दक्षिणको बीच (आग्नेय) कोणमा गर्नुपर्दछ । गौशाला, तुलसीको मोठ, घरको पूर्वपट्टि शुभादायक मानिन्छ ।
घडेरी वा घरको नजीकै कुनै ऐतिहासिक खण्डहर, समाधिस्थल, अति अग्ला रुखविरुवा, वरपिपलको रुखको छाया भएको शुभ मानिँदैन ।
दक्षिण–पूर्व (आग्नेय) कोणमा जलस्थल, पानीको ट्यांकी, इनार हुनुहुँदैन । पानीको स्रोत र ट्याङ्कीको छायाँ घरमा परेको छ भने त्यो घर निवासका लागि उपयुक्त हुँदैन ।
उत्तर–पूर्व कुनामा पानीको स्रोत, दक्षिण–पूर्वमा भान्सा, दक्षिण–पश्चिममा घरमुलीको शयनकक्ष, उत्तर–पूर्व कुनामा पूजा कोठा सवैभन्दा शुभदायक मानिन्छ । वास्तुसम्मत नियमअनुसार निर्माण भएको छैन भने घरको मूलद्वारमा स्वस्तिक चिन्ह, अष्टमङ्गल, दायाँ–बायाँ गरेर दुईवटा कलश राखी वास्तुदोष निवारण गर्न सकिन्छ । घरको छतमा हनुमान, नारायण, गरुडध्वज आदि झण्डाहरू लगाएर वास्तुदोष निवारण गर्न सकिन्छ । जुन घरमा प्रतिदिन भगवान पूजा वा सत्सङ्ग गरिन्छ, दियो कलश गरी गणेशको पूजा गरिन्छ त्यो घरमा वास्तुदोष स्वतः कम भएर जान्छ ।