आयातीत र प्रायोजित वाद, पन्थ र मतका पछि लाग्दा ती वादहरुसँगै आउने विकृतिहरु अहिले हाम्रो समाजले भोगिरहेको छ । मनपरी र छाडातन्त्रलाई लोकतन्त्र या गणतन्त्र भन्न सकिंदैन । दलगत आवरणमा निरंकुशता, व्यक्तिवादी सोचलाई प्रोत्साहन दिँदै जाँदा राष्ट्र दुर्घटनामा पर्न सक्दछ ।

महोत्साह स्थूललक्षः कृतज्ञो बुद्धसेवकः…
धार्मिकोव्यसनश्चैव प्राज्ञः शुरो रहस्यवित्…नराधिपः । –महर्षि याज्ञवल्क्य
नेपाल याज्ञवल्क्य ऋषिको भूमि हो । महर्षि यज्ञवल्क्यले राजधर्म प्रकरणमा भनेका छन्– राजा राज्यहरुका प्रमुख राजा हुन् । राज्यहरुको विशाल एकीकृत भाग राष्ट्र हो । राज्यको प्रमुख राजा हुन् भने राष्ट्रको प्रमुख सम्राट हुन् । नेपालको सन्दर्भ वाइस र चौवीस राज्यहरुको एकीकृत स्वरुप राष्ट्र हो । यहाँको प्रमुख शास्त्रसम्मत सैद्धान्तिक रुपमा सम्राट हुन् । तत्कालीन नेपालका वाइसे–चौवीसे राज्यमध्ये ६ वटा राज्यमा ब्राह्मणहरु राजा थिए । ब्राह्मणहरुको बुद्धि कौशलता, कुटनीतिक चातुर्यता, नेपाली समाजका सवै जातजाति, वर्ण समुदायको समान सहभागिताबाट राष्ट्रको निर्माण भएको हो । यो देश सवैको साझा हो । एकीकरणपछि सवै वाईसे–चौवीसे राजाहरुले कतै सन्धिबाट त कतै युद्धबाट एकीकृत हुने अवस्थालाई स्वीकार गरेका हुन् ।
राजा र वैधानिक राज्याभिषेकको सन्दर्भमा राजालाई सौर्यता, पराक्रमी, वीर, साहसिक योद्धा, उत्साही, कृतज्ञ, वृद्धहरुको सेवा गर्ने, सत्यवादी, कुलीन, कोमल प्रकृतिको, आफ्नो कर्म, धर्म, इमानलाई नछाड्ने, अध्यात्म विद्या, राजनीतिक शास्त्र, समाज शास्त्र, अर्थशास्त्र, कुटनीतिज्ञ, सैन्य सञ्चालनमा निपूर्ण, विभिन्न भाषाहरुको जानकार, सुस्वास्थ्य, धर्मशास्त्रमा पारंगत, राजधर्म र कर्ममा निपूर्ण, परा–अपरा विद्याको जानकार, दण्डनीतिको अभ्यास गर्नसक्ने, सन्धि र विग्रहको जानकार, यहलौकिक, पारलौकिक विषयमा आस्थावान नै राजा वा शासकमा हुने गुणहरु हुन् । शासकमा हुनुपर्ने सकारात्मक गुणहरु हुन् । श्रौतकर्म, नित्य हवन, नित्य पूजा, कूलमर्यादाको पालक, सत्यवादी राजालाई नै राज्याभिषेकको लागि उपयुक्त मानिएको छ । ज्योतिष शास्त्रअनुसार राजयोग भएको, शासन, प्रशासन, अनुशासनलाई अनुसरण गर्ने हुनुपर्दछ । सम्पूर्ण वेद, उपनिषद्, पुराणमा राजाले सोध्ने, ऋषिहरुले उत्तर दिने र ज्ञानी, तपस्वी र विद्वान्हरुको संवादवाट नै धर्मशास्त्रहरु निर्माण भएका हुन् । वैधानिक राष्ट्रसभा नहुँदा सारा व्यवस्थाहरु विग्रिने, शास्त्रीय मर्यादा, परम्परा र हाम्रा मान्यताहरु खल्वलिने देखिन्छ ।
शरीरका कुनै अंग, प्रत्यंग खण्डित, दण्डित, अनुचारी, व्यभिचारी, मदिरासेवक, व्यापार गर्ने, कुकर्मरत, धर्मशास्त्रका मान्यतालाई नमान्ने, राजसूयादि यज्ञ नगरेको, लोभी, पाखण्डधर्मलाई अपनाउने, गौ, विद्वान् र आफ्नो कुल परम्पराका मान्यताहरुको निन्दक, नित्य हवन, दान, यज्ञ नगर्ने, राज्यबाट तलवभत्ता बुझ्ने कदापि पनि सुयोग्य राजा वा शासक हुन सक्दैन । शिवस्व, राजस्व, ब्राह्मणस्व खाने, छिन्नभिन्न गर्नेलाई कदापि पनि शासक मान्न सकिन्न । व्रतबन्ध कर्मपछि वैधानिक वैधानिक अभिवेषक नभएको राजा वा राजकुमार मान्न सकिन्न ।

प्रसंग वदलौं,
वयं राष्ट्रे जागृयाम पुरोहिताः –यजुर्वेद
हामी सबै मिलेर राष्ट्रको जागरण र रक्षाका लागि पुरोहित भएर जुटौं ।
वैदिक वाङ्मयमा ‘राष्ट्र’ शब्द प्रशस्त उल्लेख भएका छन् । राष्ट्र भनेको विराट स्वरूप हो । धर्म, संस्कृति, परम्परा तथा नैतिक सदाचारयुक्त, न्यायपूर्ण र गतिशील जीवनपद्धति नै राष्ट्र हो । राष्ट्रोन्नतिका लागि प्रत्येक नागरिक जागरुक बन्नुपर्दछ । राष्ट्रमा आइपर्ने जुनसुकै प्रकृतिका चुनौतिहरू (राजनीतिक, सामाजिक, सांस्कृतिक, दैविक प्रकोप तथा बाह्य आक्रमण)को अवस्थामा राष्ट्रवासीहरू सशक्त र सौर्यताका साथ एकीकृत हुनुपर्दछ । राष्ट्रका सबै अंगहरु– आन्तरिक र वाह्य सुरक्षा, कुटनीतिक, आर्थिक, सामाजिक, सवल तथा सशक्त हुनु आवश्यक छ ।
राज्यसत्ता सञ्चालनका लागि आवश्यक सातवटा अङ्गको वर्णन वैदिक वाङ्मय र मनुस्मृति तथा शुक्रनीतिमा गरिएको छ । राज्यका सात अङ्ग भनेका १. राष्ट्रप्रमुख (शासक, राजा), २. अमात्य
(मन्त्री), ३. पुर वा दुर्ग (राज्यको सिमाना र सेना सुरक्षावल) ४. जनपद, जिल्ला, नगर, गाउँहरू ५. कोष (अर्थव्यवस्था), ६. दण्ड (न्यायव्यवस्था), ७. सुहृद् (मित्र) राष्ट्रका छिमेकीहरू हुन् । यी सात अङ्गको व्यवस्थापन राम्रोसँग गर्नसक्नु नै राज्य सञ्चालन गर्नसक्नु हो । वैदिक राज्यव्यवस्थामा सभा, समिति, स्वतन्त्र न्यायपालिका, वैधानिक राष्ट्रसभा, जनप्रतिनिधिआदिका बारेमा विस्तृत वर्ण गरिएको पाइन्छ । राज्यसञ्चालनको पूर्ण व्यवस्थालाई राज्यव्यवस्था भनिन्छ । जनताका हक, अधिकारलाई सुनिश्चित गर्नु र जनतान्त्रिक पद्धतिअनुसार न्यायपूर्ण तरिबाटबाट जनतालाई समृद्धशाली बनाउनु नै वैदिक राज्यव्यवस्थाको मूल ध्येय हो । सत्य र धर्मको पालन गर्नु, सम्पूर्ण राष्ट्रवासीको हितका निम्ति कार्य गर्दै विश्वमा शान्तिको कामना गर्नु नै वैदिक राज्यव्यवस्थाको मूल मन्त्र हो ।
आधुनिक विश्वपरिवेशको राजनैतिक परिकल्पनाको आधार भनेको जनतालाई नाना, खाना र छानाको समान उपभोगको अवसर प्रदान गर्नु र समतामूलक समाज स्थापना गर्नु हो । न्यायपूर्वक शान्तिपूर्ण रूपमा बाँच्न पाउनु मानवको नैसर्गिक अधिकार हो । वैदिककालीन राज्यव्यवस्थामा पनि यिनै दार्शनिक चिन्तन, आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक, भौगोलिक, सांस्कृतिक अधिकारलाई सुनिश्चितता प्रदान गर्नु र न्यायपूर्ण समाजको स्थापना गर्नु नै राष्ट्रिय स्थायित्वको आधार मानिएको थियो । पृथ्वीमा धेरै प्रकारका राज्यव्यवस्थाहरू भएको वेद तथा उपनिषद्मा वर्णन पाइन्छ । लगभग १० औं हजार वर्षको राजनीतिक अभ्यासबाट राजतन्त्रात्मक व्यवस्था (राज परम्परा), वैदिक साम्यवादी व्यवस्था, समाजवादी व्यवस्था या मानवतावादी व्यवस्था अभ्यास भएको र ती सबैको मूल सैद्धान्तिक स्रोत भनेको वेद र वैदिक वाङ्मय नै हुन् । मानवीय विकासक्रमसँगै एक समूह र अर्काे समूहबीच हुने भय, त्रास, आक्रमणजस्ता आपद्विपद्बाट बच्न र वचाउने सन्दर्भमा समूहको निर्माण भएको हो । सामूहिक सहभागिताबाट आप्mनो समुदायको रक्षाका लागि संगठनको आवश्यकता अनुभूति गरी किल्ला, दुर्गको रचना भयो । धनुर्वेद, क्षत्रिय धर्मको विस्तार पनि यसै सन्दर्भमा भएको हो । यसबाट नै संगठनको उपयोगिता प्रष्ट हुन्छ । यिनै समूहको रूपान्तरणस्वरूप राज्य वा राष्ट्रको जन्म वा उदय भएको हो भन्ने बुझिन्छ । हजारौं–हजार वर्षपूर्व रचना भएका वैदिक ग्रन्थहरूमा राष्ट्रको बारेमा सूक्ष्म र विशिष्ट चिन्तन गरिएका छन् जो आधुनिक राजनीतिक भाष्यहरुमा त्यत्ति नै विस्तृत र सुक्ष्म रुपमा गरेको पाइँदैन ।
राष्ट्र सञ्चालनका लागि सभा, समिति र वैधानिक राष्ट्रिय सभाको आवश्यकता पर्दछ । ग्राम, जनपद, महाजनपद, हुँदै राष्ट्रसभाका प्रमुखको चयन वरण गर्नुपर्दछ । स्थानीय स्तरका वादविवाद, अपराध र अन्याय स्थानीय स्तरमा समाधान गर्दै विवादको स्तर हेरी नगर क्षेत्र, जनपद वा केन्द्रले समाधान गर्नुपर्दछ । राष्ट्रको एकता, अखण्डता, सार्वभौमिकता रक्षाका लागि प्रत्येक घर–घरबाट राष्ट्रनिर्माणको महायज्ञमा योगदान दिनु नै नागरिक कर्तव्य मानिन्थ्यो ।
चार वेदमध्ये यजुर्वेद र अथर्ववेदमा राष्ट्रको अर्थनीति, कूटनीति, काम, कर्तव्य, अधिकार, स्वतन्त्र न्यायपालिका, कार्यपालिका, अनुशासनको व्यवस्थापनजस्ता कुराहरूको सूक्ष्म रूपमा सूत्रात्मक सङ्केत गरिएको छ । पृथ्वीलाई देवीको रूपमा मानेर समृद्ध राष्ट्र बन्नका लागि सौर्यता, पराक्रम, निष्ठा, समर्पण, सैन्यशक्ति, नैतिकता र सदाचार शिक्षा–दिक्षा, अनुशासन, धन–धान्य, जल, वनस्पति, पशुपंक्षी, सुवर्ण, खोलानाला, आवास, प्रजनन, भोजन, कला, साहित्य, सिर्जना, संस्कृति र वितरणको समान सदुपयोगबाट नै राष्ट्र निर्माण हो मानिएको छ । राष्ट्रदेवी, वागदेवी, ससरपरी, विशालाक्षी, राष्ट्रसमृद्धिकी देवी हुन् । राष्ट्र सामुहिक सम्पदा हो ।
वैदिककालमा पनि नागरिकले राष्ट्रगान गाउने राष्ट्रदेवी, वागदेवीको स्तुति गर्नु राष्ट्रवासीको दायित्व थियो । सामाजिक सद्भाव अझ दरिलो रुपमा अघि बढाउन सम्पूर्ण जनसमुदायको कल्याणको कामना गर्ने र ईश्वरीय शक्तिको स्तुति, प्रार्थना गर्ने मन्त्रहरूको उल्लेख पाइन्छ । वेदमा राष्ट्रवादका सूक्तहरु प्रसस्त पाइन्छन् । वेदमा माताभूमि पुत्रःअहम् पृथ्वीव्य — मेरी आमा भूमि हुन् म भूमि पुत्र हुँ । यो भूमिको रक्षाका लागि मेरो जन्मभूमि रक्षाका लागि सम्पूर्ण जीवनको वलिदान दिनेछु ।
समाजमा कलंक आउने कार्य कसैले नगरून् । पृथिवी, जल, तेज, वृक्ष, वनस्पतिलाई कसैले दूषित नगरून् । राष्ट्रको समृद्धिका लागि समान सहभागिता र न्यायपूर्ण व्यवस्थाको आवश्यक पर्दछ । कृषिकार्य, वाणिज्य–व्यापार तथा श्रम विभाजन अनुसार कार्य गर्दै जनसमुदाय समृद्ध बनून् । अध्यात्मको साधनामा तल्लीन रहुन् । गृहस्थ धर्म, परिवार पालनपोषणमा निरन्तर क्रियाशील बनून् ।
हिमालयदेखि समुद्रसम्म विवेकसम्पन्न मानिस हाम्रा कुटुम्ब हुन् । वैदिक वाङ्मयमा सम्पूर्ण पृथिवीलाई नै राष्ट्र मानिएको छ । यो विशाल धर्तीमा मनुष्य–मनुष्यबीचको प्रेम, सद्भाव, सदाचार र एकताबाट मनुष्यमा करुणा र प्रेमको विकास हुन्छ । प्रकृतिका सास्वत् नियमको पालना गर्नु सम्पूर्ण मनुष्य जातिको प्रथम कर्तव्य हो । पृथ्वीको मर्मस्थलमा घात गर्ने कुनै पनि अशुभ कार्य कसैबाट हुनुहुँदैन । कसैले त्यस्तो कार्य गर्दछ भने नियमानुसार सम्पूर्ण मानवता विरोधी भनेर दण्डको व्यवस्था गर्नुपर्दछ । राष्ट्रको हितमा सधैँ चिन्तन गर्ने, राष्ट्र र राष्ट्रवासीका लागि सेवा गर्न दृढसंकल्पका साथ सबैलाई सहभागी गराउनु पर्दछ । विश्व शान्तिको कामना नै वैदिक राज्य व्यवस्थाको पहिलो अध्याय हो । आकाश, धर्ती, वायु, जल तथा वनस्पतिका साथै सम्पूर्ण मानवले शान्ति प्राप्त गरुन् ।
भौगोलिक अवस्था र मानवीय वसोवास, समान सांस्कृतिक परम्परा र तत्कालीन सामाजिक मूल्य–मान्यता तथा वर्ष (वृष्टि)लाई आधार मानी विश्वलाई नौ खण्डमा विभाजन गरियो । त्यही नवखण्ड नै विभिन्न वर्षको रूपमा रहेका छन् । नवखण्डभित्र नेपाल एक अखण्ड, अविभाज्य हिमवत राष्ट्र हो । हिमायत्वा… माही…, आदि शब्दबाट नेपालको अस्तित्व १० औं हजार वर्षपहिले लिखित वैदिक वाङ्मयमा प्राप्त गर्न सकिन्छ ।
राष्ट्रको उन्नति चाहने व्यक्तिले सत्यवादी, मधुरभाषी, कर्तव्यनिष्ठ हुुनुपर्दछ । आप्mनी माताको
(राष्ट्रको) रक्षाका लागि आप्mनो ज्यान मात्र होइन, आप्mना सन्ततिको उत्सर्ग पनि गर्न पछि पर्नुहुँदैन । राष्ट्रभित्रका अन्तर्घाती र राष्ट्र बाहिरका विरोधी शत्रुहरूले कुनै पनि बेला राष्ट्रलाई घात गर्न सक्छन् । राष्ट्र कुनै पनि बेला परतन्त्र हुनसक्दछ । त्यसैले सधैँ शत्रुबाट आप्mनो राष्ट्रलाई बचाउन सम्पूर्ण राष्ट्रबासी तयार भएर रहनुपर्दछ । जहाँ सत्य, सदाचार, कर्तव्यनिष्ठ, नेता, जनता, राजा
(शासक) छन्, न्यायपूर्ण जनतन्त्रात्मक व्यवस्था मौलाएको छ भने त्यस्तो राष्ट्रको भूमिले सदैव वीर सपूत मात्र जन्माउँछिन् । ती सपूत् वीर–वीराङ्गनाको संगठित प्रयासबाट राष्ट्र निर्माण भएको हुन्छ ।
राष्ट्रवादका अनेकौं सूत्रहरू वेदमा छन् । सम्पूर्ण विश्वभरिको राजनीतिक चिन्तनको बीज नै वेद हो । वेदको निर्देशनमा हिँडेको राष्ट्र कहिल्यै पनि पराधीन हुनुपर्दैन । वेदले प्रार्दुभाव गरेको, १० औं हजार वर्षको अभ्यासबाट खारिएको हाम्रो आप्mनो व्यवस्थाको सिर्जना गर्न छोडी आयातीत र प्रायोजित वादका पछि लाग्दा ती वादहरुसँगै आउने विकृतिहरु अहिले हाम्रो समाजले भोगिरहेको छ । मनपरी र छाडातन्त्रलाई लोकतन्त्र या गणतन्त्र भन्न सकिंदैन । दलगत आवरणमा निरंकुशता, व्यक्तिवादी सोचलाई प्रोत्साहन दिँदा राष्ट्रबासीले ठूलो मूल्य चुकाएको अवस्था वर्तमान परिस्थिति हो । त्यसैले समयमै सचेत भएर सम्पूर्ण जात–जाति, भाषा–भाषी, शिल्पकला, विद्या, साहित्य, संस्कृति आदि सबैको उत्थानमा लाग्दै राष्ट्रलाई एकजूट बनाई सतातन राज्यव्यवस्थालाई व्यवस्थित गर्न नेपालका सवै जातजाति, भाषाभाषीलाई जोड्ने गरी वैधानिक राष्ट्रसभाको निर्माण गर्नु नै आजको आवश्यकता हो, सम्पूर्ण समस्याहरुको समाधानको सूत्र पनि हो ।
अनुत्तरित प्रश्न
हिजो जुन ठाउँमा जसका राज्यहरु थिए त्यहाँका वैधानिक राजप्रतिनिधिहरुको आजको अवस्था के छ ? यी प्रश्नहरु अनुत्तरित छन् । एकीकृत अवस्थामा नेपाल अखण्ड, अविभाज्य स्वीकार गरिएको अवस्थामा एक भएको नेपाललाई फेरि छिन्नभिन्न पार्ने प्रयास स्वरुप प्रदेशको विभाजन हो भन्ने मतहरु पनि प्रकट भइरहेका छन् । नेपाल एक अखण्ड, अविभाज्य प्रशासनिक संरचनाहरु रहनुपर्छ भन्ने विचारहरु पनि नआएका होइनन् । यसमा नेतृत्व वर्गको दृष्टिकोण के हो ? सत्ताप्राप्तिका लागि राष्ट्र वलि चढाउने प्रयत्न दलगत स्वार्थबाट निर्देशित हो भने कदापि स्वीकार्य हुन सक्दैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here