कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयाको दिनसम्मका पाँच दिनलाई यमपञ्चक भन्ने गरिन्छ । यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको हो ।
यमपञ्चकको पहिलो दिन विहान घरलाई लिपपोत गरी शुद्ध बनाई आँगनमा वैदिक विधिविधान अनुसार यमदूतका रुपमा कागलाई पूजा गरिन्छ, कागलाई मीठो लाग्ने विविध खानेकुरा दिइन्छ । कागलाई यमराजको दूतका रुपमा लिइने र सत्यवादी, भविष्यद्रष्टा, सन्देशवाहक पन्छीका रुपमा लिने परम्परा छ । पन्छीहरुमा सबैभन्दा चतुर र सकुनशास्त्रका वक्ताका रुपमा मानिएको छ । कागलाई हिन्दू धर्मावलम्बीहरुले वसुधैव कुटुम्बकम्को भावबाट ओतप्रोत भएर सम्मान प्रकट गर्दै पूजा गर्दछन् । भगवान् विष्णुको वाहन गरुड, लक्ष्मीका वाहन लाट्कोशेरो, सरस्वतीको वाहन हंश, कार्तिकेयका वाहन मयुर र यमको दूतको रुपमा कागलाई लिनाले पंक्षीप्रतिको अनुराग पनि महत्वपूर्ण छ । पौराणिक रुपमा मात्र नभएर कागले सामाजिक रुपमा पनि घरगाउँमा रहेका कतिपय फोहोरमैलाहरु खाएर वातावरण सफा गर्ने गर्छन् । पितृकार्यमा पनि मान्छेको देहावसान भएपछि अनिवार्य रुपमा कागबली (खाना) दिने विधान छ । पौराणिक रुपमा काग भुसुण्डी नामक ऋषि प्रसिद्ध भएको र रामायणको कथा सुनाएको प्रसङ्ग पनि अवगत हुन आउँछ । यही दिन भगवान धन्वन्तरीको प्रादुर्भाव भएको हुनाले यस दिनलाई धन्वन्तरी जयन्ती वा धनतेरस पनि भनिन्छ । यसै दिन साँझमा मूलद्वारको सामु यमराजलाई दीपदान गर्नाले मृत्युदेव प्रसन्न भई आरोग्यता तथा दीर्घजीवन प्रदान गर्छन् भन्ने विश्वास छ । त्यो घरमा कहिले पनि अपमृत्यु वा अल्पमृत्यु हुँदैन भन्ने मान्यता रहेको पाइन्छ । कार्तिक महिनामा यस दिन दीपदान गर्नुको महत्व— कार्तिक महिनाभरि पाँचै दिन घर बाहिर–भित्र ज्योति बाल्नाले अल्पमृत्यु, दुःख, अशुभभाव नाश हुन्छ ।
यमपञ्चकको दोस्रो दिनलाई नरक चतुर्दशी अर्थात् कुकुर तिहार भनिन्छ । यस दिन विहानै तेल लगाएर अवमार्ग आदिको प्रयोग गरी स्नान गर्नुपर्दछ । आफ्ना पितृहरुलाई सम्झेर नदी, तलाऊ आदिमा दीप प्रवाह गर्ने विधान पनि छ । आफ्नो कुलोचित तर्पणादि समाप्त गरी कुकुर पूजा गर्नुपर्दछ । पशुहरुमा तुच्छ रुपमा रहेको कुकुरलाई पनि यमराजको दूत र भैरवजीको वाहनका रुपमा लिने गरिन्छ । स्याव र शबल नाम गरेका कुकुरको जन्म वैवश्वत कूलमा भएको पौराणिक प्रमाण छ । यो आधारमा पनि मानव र कुकुरको सम्बन्ध निकट रहेको देखिन्छ । सनातन हिन्दू धर्मावलम्बीहरुले यस वफादार प्राणीको सम्मान गर्दै यमपञ्चक अन्तर्गत पूजा गर्ने र श्रद्धाभाव प्रकट गर्ने गर्दछन् । कुकुर तिहारका दिन शरीरमा तोरीको तेल मर्दन गरी स्नान गर्नाले छालाको रोग र चिसोबाट बच्न सकिन्छ । कुकुरको सामाजिक महत्व पनि छ । प्राणीहरुमा अत्यन्त तीव्र घ्राण शक्ति भएको चौपाया कुकुर हो । कुकुरको सहयोगले ठूल्ठूला अपराधीहरुलाई पत्ता लगाउने गरिन्छ । यो प्राणी आफ्नो स्वामिप्रति सधैं उत्तरदायी रहन्छ । धेरै खाने मांसभक्षी जनावर भए पनि थोरैमा पनि सन्तुष्ट हुने स्वभाव पाइन्छ । कुकुर तिहारले मानिसलाई आफ्ना स्वामी (ईश्वर) प्रति सधैं वफादार रहने, सधैं चतुर, आलस्यरहित हुनुपर्ने सामाजिक दायित्वबोध गराउँछ ।
यमपञ्चकको तेस्रो दिन अमावश्यालाई लक्ष्मीपूजा वा गाईतिहारे औंसी पनि भनिन्छ । मूल प्रकृतिमा लक्ष्मीका दुई स्वरुप हुन्छन्– दुर्भाग्य लक्ष्मी र सौभाग्य लक्ष्मी । औंशीको दिन (लक्ष्मीपूजा) विहान घरलाई लिपपोत गरी सफा–सुग्घर भएर नित्यकर्म गरी दुर्भाग्य लक्ष्मीको प्रार्थना गरिन्छ । दुर्भाग्य लक्ष्मीको पूजापछि गौलक्ष्मीको समन्त्रक पुजा गर्नुपर्दछ । कर्म गरे पनि दुर्भाग्यले नछोड्ने भएकोले पहिले दुर्भाग्यलाई हटाई सौभाग्य वृद्धिका लागि सौभाग्य लक्ष्मीको पूजा गर्नुपर्दछ । त्यसपछि धनधान्यकी देवी लक्ष्मी र ऋद्धिसिद्धीले युक्त भएका भगवान् गणेश, कुवेर, कार्तिकेय र श्रीविद्याका उपासकले श्रीचक्रको पूजा गर्नुपर्दछ । गाईलाई लक्ष्मीको रुपमा मानी तेत्तीस कोटी देवताहरु गाईको शरीरमा रहने भएको हुनाले गाईको पूजाले सम्पूर्ण तेत्तीस कोटी देवताको पूजा भएको मानिन्छ । यसरी पूजा गरिसकेपछि मीठो घाँस, कुँडो, रोटी, पसाएको हरियो धानआदि ख्वाउने गरिन्छ । यही दिन सन्ध्याकालमा कुबेर, इन्द्र, धनसम्पत्ति आदिको पूजा गरी दीपमालिका (दीपावली) गर्ने गरिन्छ । स्थिरलक्ष्मी, यश, कीर्ति, ऐश्वर्य, उन्नति प्राप्तिका लागि सन्ध्याकालमा कोठा, चोटा, प्राङ्गण, जलाशय, गौशाला आदिमा बत्ती बाल्ने गरिन्छ । गाईलाई हिन्दू धर्मावलम्वीहरुले माताका रुपमा सम्मान प्रकट गर्दछन् । गाईले दूध पान गराएर मानिसको शरीरलाई हृष्ठपुष्ट गराउँछिन् । गोमूत्र पान गरी आन्तरिक वात, कफ, पित्त आदि रोग निवारण हुनुका साथै आत्मिक शुद्धी पनि गराउँछिन् । गौदुग्धलाई अमृत मानिन्छ, त्यस्तै घ्यूलाई आयुर्वै घृतम् भनिन्छ । बाँचुञ्जेल जीवनदायिनी शक्तिको रुपमा गोरसपान गरेर मृत्युपर्यन्त वैतरणी पार गराउने सहाराको रुपमा गाईलाई हिन्दू धर्मले सम्मानपूर्वक विशिष्ट स्थान दिइएको छ । त्यसैले गाईलाई माताका रुपमा, लक्ष्मीका रुपमा र हाम्रो देशमा राष्ट्रिय जनावरका रुपमा पनि सम्मान गरिएको छ । यसै दिन साँझमा महाकालीको पूजा पनि गरिन्छ । नयाँ बहीखाताहरुमा, सरस्वतीको तथा धनियाँ, सुठो, कौडा, कमलगट्ठा भोजपत्रआदिमा लक्ष्मीजीको स्थापना गरी पूजा गरिन्छ ।
यमपञ्चकको चौथो दिन अर्थात् कार्तिक शुक्ल प्रतिपदाको दिनलाई गोवर्धन पूजा अर्थात् गोरु तिहार भनिन्छ । यस दिन गोरुको पूजा गर्नुभन्दा पहिले बिहान नित्यकर्म गरी घरमा गाईको गोवरले गोवर्धन पर्वतको निर्माण गरी शास्त्रीय विधिअनुसार पूजा गर्नुपर्दछ । गोवर्धन पूजाको बारेमा कृष्ण चरित्र भागवत्मा विस्तृत चर्चा गरिएको पाइन्छ । अभिमानी इन्द्रको घमण्डलाई चूर गर्न भगवान् श्रीकृष्णले गोवर्धन पूजाको परम्परा बसाएको चर्चा पौराणिक ग्रन्थहरूमा पाइन्छ । सनातन आर्य जातिहरुले गाईलाई विशेष महत्व दिएर माताका रुपमा सम्मान गर्ने हुनाले तिनीहरुको चरण, घाँसपात प्रदान गर्ने क्षेत्र वा प्रकृतिलाई नै गोवर्धनका रुपमा पूजा गरिएको, संरक्षण गरिएको अवगत हुन आउँछ । यसै दिन सत्यवादी बलिको पूजा पनि गर्ने विधान रहेको छ । अमावश्याको दिन साँझदेखि भोलिपल्ट विहानसम्म चेलीबेटीहरु आपसमा भेला भई घर–घरमा भैलो खेल्दछन् । गोवर्धन पूजाको दिन र यमद्वितीयाको दिन दाजुभाइहरु मिलेर देउसी खेल्ने प्रचलन छ । गाउँघरमा लिंगे पिङ हाली रमाइलो गर्ने, ऋतुराज अनुजका रुपमा शारदीय समयमा वसन्त ऋतुझैं पुष्पहरु फुल्ने, खेतबारीमा अन्नबाली लहलह लहराउने, बाटाघाटा सफा र स्वच्छ रहने हुनाले अति नै सुन्दर समयमा यो पूजा या गोवर्धन उत्सव गरिन्छ ।
यमपञ्चकको पाँचौं दिनलाई भाइटिका अर्थात् भातृद्वितीया भनिन्छ । यस दिन घरमा नित्यकर्म गरी शास्त्रीय विधिअनुसार यम, यमुना र अष्टचिरञ्जीवीको पूजा गरिन्छ । बहिनी यमुनाले आफ्ना दाजु यमराजलाई यमलोकको कार्यबाट विदा लिएर निमन्त्रणा गरी आफ्ना घरमा सम्मानपूर्वक पूजाअर्चना गरेको चर्चा पौराणिक वाङमयमा पाइन्छ । दिदीबहिनीहरुले दाजुभाइहरुको दीर्घायु, आरोग्यता, ऐश्वर्य, कीर्तिआदिको वृद्धिका लागि भाइटिका लगाइदिन्छन् । माइतीको जीवनमा आउने अप्ठ्यारो र अशुभताको नाश गर्नका लागि कठोर ओखर, बिमिरो आदिको पूजा गरी ढोकामा राखेर फुटाइन्छ । त्यसपछि तेलको धाराले परिक्रमा गराई सप्तरङ्गी टीका लगाइदिने र कहिले नओइलाउने मखमली, दुवो, सयपत्री आदिको माला लगाई मिष्ठान्न मसला आदि विभिन्न परिकारहरु खुवाउने प्रचलन रहेको छ । यस दिन गणेश, लोमश, यमुना, परिचारिका, नवग्रह, ब्रह्मा, विष्णु रुद्रादिको पूजा पनि गरिन्छ ।
दाजुभाइहरुले दिदीबहिनीहरुलाई आफ्नो अवस्था अनुसार दक्षिणा, उपहार दिने प्रचलन छ । यमपञ्चकको पाँच दिनमा क्रमशः काग, कुकुर, गौ, लक्ष्मी गोवर्धन र भाइपूजा गरी पशुपक्षी लगायत सम्पूर्ण परिवारको दीर्घायु, आरोग्यता, ऐश्वर्य, यश, कीर्ति, विजय आदिको कामना गरिन्छ । पिङ खेल्ने, दीपावली गर्ने, देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरी तिहार मनाउने गरिन्छ ।
हाम्रा पर्वहरुले संसारभरि फैलिएका छन् । सुमात्रादेखि हिन्द एसिया ब्रह्मदेश (बर्मा)देखि अजरवैजानको वाकुसम्म ज्योति र प्रकाश र फुलैफूलको पर्व, रङ्गीविरङ्गी सप्तरङ्गी पर्वको रुपमा मनाएर संसारभरि शान्ति, समृद्धि, उन्नति, आपसी, मैत्री करुणाको भावलाई विश्वभरि फैलिएको छ । भवतु सर्व मंगलम् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here