व्रत किन ?
शरीरको माध्यमबाट मानिसले अपार सम्भावनाको विकास, धर्मसाधना र सम्पूर्ण श्रमका कामहरू गर्न सक्दछ । सृजना र विकासको स्रोत मानवचेतनाभित्र रहेको हुन्छ । हृष्टपुष्ट र तन्दुरुस्त मानिसले मात्र सम्पूर्ण काम राम्ररी गर्न सक्दछ । स्वास्थ्यका लागि भोजन अनिवार्य आवश्यकता हो । भोजनविना मानिस केही दिन पनि स्वस्थ रहन सक्दैन । पाचनक्रिया सबल, सशक्त र सही भयो भने मात्र मानिसले सुस्वास्थ्य र दीर्घायु प्राप्त गर्न सक्दछ । स्वास्थ्यका लागि उपवास अनिवार्य हुन्छ । पाचनक्रियाले प्रत्येक दिन विभिन्न कठोर रसदार भोजनहरू पचाइराखेको हुन्छ । त्यसैले पाचनक्रिया कमजोर हुने गर्दछ । पाचनक्रिया र आँतलाई पनि हप्ता या पक्षमा एकपल्ट खाली राख्नुपर्दछ । आरोग्यताका लागि जल, दूध या फलफूलको रस मात्रै खाएर उपवास ग¥यो भने मानिसको लिभर, आन्द्रा, आमाशय र आन्तरिक सम्पूर्ण अङ्गप्रत्यङ्गहरूले विश्राम पाउँदछन् । एकदिन उपवास बस्दा जुन देवताको उपवास बसिन्छ, तिनै देवतालाई स्मरण, मन्त्रजप, पूजाआदि गर्दा शरीरमा आरोग्यता, शारीरिक स्फुर्ति र सबलता प्राप्त हुन्छ । व्रत गर्दा आइतबार भगवान् सूर्यको, सोमबार शिवजीको, मङ्गलबार गणेशको, बुधबार कुबेर या देवीको, बिहिबार भगवती बगलामुखी या लक्ष्मीनारायणको, शुक्रबार भगवती दुर्गा या वैभवलक्ष्मीको, शनिबार भैरव या शनिको व्रत, लाभदायक हुन्छ । कूलदेवताको लागि पूर्णिमाको दिन व्रत गर्नुपर्ने हुन्छ । व्रतबाट शरीरको आन्तरिक शुद्धि भई आरोग्यता हासिल भई मनोकामना पूरा हुन्छ ।

शङ्खनाद किन ?
शङ्ख बजाउने कार्यलाई शङ्खनाद भनिन्छ । शङ्खनाद एक विशेष प्रकारको साधना हो । कुनै पनि वैदिक महत्वपूर्ण अवसरमा शङ्खलाई बजाइने गरिन्छ । बालकको मुखदर्शन, वरबधूको मुखदर्शन, असामान्य (विशिष्ट) व्यक्तिको आगमन एवं नित्यपूजा या आरति गर्ने समयमा शङ्ख बजाएर वरिपरि रहेको वातावरण स्वच्छ बनाउने प्रक्रिया वैदिक कालदेखि चलिआएको हो । नेपाली परम्परामा जन्मदेखि मृत्युसम्म सम्पूर्ण संस्कारमा शङ्खनाद गरिन्छ । कुनै माङ्गलिक कार्य या शुभकार्यको उत्सव÷अवसरमा शङ्ख बजाएर माङ्गलिक ध्वनि प्रसारण गर्ने संस्कार छ । शङ्खको मुखमा आप्mनो मुख लगाउँदा ओठको रखाई, फुक्ने श्वासको परिणाम, मनको एकाग्रता एवं इच्छाशक्तिको प्रबलता यी चार प्रमुख कुराहरूको मेलबाट नै शङ्खबाट सुमधुर ध्वनि निस्किन्छ । यदि यी चार प्रकारमध्ये कुनै एकको कमी भयो भने शङ्खबाट अपेक्षित ध्वनि निस्किँदैन । शङ्ख बजाउने समय शङ्खको ध्वनि कतातिर छ र सहज तरिकाले शङ्ख ध्वनित हुन्छ कि हुँदैन भन्ने जानकारी हुनु आवश्यक छ । शङ्ख बजाउनाले विभिन्न श्वासप्रश्वाससम्बन्धी समस्याहरूको समाधान हुन्छन् । शङ्खघोषबाट निस्किने ॐ को ध्वनिले मानसिक रोग निको पार्दै कुण्डलिनी जागरणको सशक्त साधन बन्दछ । यसमा विशेष प्रकारको बहिर्कुम्भक (प्राणायाम) को प्रक्रिया सन्निहित हुन्छ । यसले शरीरमा रहेको तन्त्रिका नामक तन्त्रलाई उद्वेलित गर्दछ । जसले गर्दा प्रसुप्त तन्त्र जागृत हुन्छ । शङ्खको ध्वनिले सर्वगुणी क्रियाशक्तिको सञ्चारण गर्दछ । वैज्ञानिक प्रविधिद्वारा पनि प्रमाणित भइसकेको छ– वाणी या बोलीसँग सम्बन्धित विकार या अशुभता शङ्खनादको अभ्यास या ध्वनिबाट नष्ट हुन्छन् । वायुमण्डलमा इलेक्ट्रोन, न्युट्रोन, प्रोटोनको गतिलाई व्यवस्थित गर्दछ । वातावरणमा किटाणुहरूको असरलाई कम गर्दछ । शङ्खध्वनि गरेको ठाउँमा कुनै पनि अशुभ र विघ्न हुँदैन । अतः शङ्ख बजाउनुको महत्ता विशिष्ट रहेको छ ।

विवाहमा पोते किन ?
मानवजीवनको गतिलाई अगाडि बढाउन भोजन र आवासपछि प्रजननको महत्वपूर्ण भूमिका हुन्छ । प्रजननको प्रक्रिया, वंश परम्परा अगाडि बढाउन तथा सामाजिक, मूल्य मान्यताको निरन्तताको लागि विवाह आवश्यक पर्दछ । वैदिक दर्शनमा विवाह आठ प्रकारका हुन्छन् भनिएको छ । ती आठ प्रकारका विवाहअन्तर्गत आर्षपरम्पराअन्तर्गत गरिने विवाहलाई वैदिक विवाह भनिन्छ । वरले वधूको घरमा गएर कन्या मागेर, जन्मपत्रिका मिलान गरी गरिने विवाहलाई वैदिक विवाह भनिन्छ । अग्निलाई साक्षी राखी कूल, कुटुम्ब, गुरु, पुरोहितको सहभागितामा वैदिक मङ्गलोच्चारणका साथ गरिने विवाह नै वैदिक विवाह हो ।
विवाहमा पोते या मङ्गलसूत्रको महत्जपूर्ण स्थान हुन्छ । स्त्री जातिको शरीरमा बहने हर्माेनका कारण उनीहरू स्वाभावैले दयालु, कृपालु र आँटिला हुन्छन् । शारीरिक बनावट पनि पुरुषको तुलनामा कोमल हुन्छ । सम्पूर्ण परिवारको जिम्मेवारी वहन सजिलै गर्दछन् । विवाहको समयान मङ्गल मन्त्रका साथ वरले वधूलाई पोते र सिन्दूर लगाइदिने विधान छ । त्यसपछि लगनगाँठो बाँधेर सूर्य, अग्नि, इन्द्र, यम, वरुण, आकाशका देवता, पातालका देवता, पृथ्वीका देवता, नागआदिलाई साक्षी राखेर विवाहको मङ्गल कार्य गरिन्छ । पोते (मङ्गलसूत्र) सानो इकाईमा २७, ३६, ५४ या १०८ वा २१६ लुङ्गको पोते वैदिक मन्त्रोच्चारणका साथ लागइदिने विधान गरिएको छ । माथि उल्लिखित लुङ्गहरूको पूर्ण संख्या २७ मा २ जोड ७ = ९, ३ जोड ६ = ९, ५ जोड ४ = ९ आदि हुन्छ । हे सखी ! तिमीलाई मैले पत्नी रूपमा स्वीकार गरेँ । तिमी आधा म आधा थियौं । हामी दुई विवाह बन्धनद्वारा बाँधिएर आज पूर्ण भएका छौं । जसरी भगवान् शिव अर्धनारीश्वर हुनुहुन्छ त्यसैगरी तिमीले र मैले पनि पूर्णता प्राप्त गरेका छौं । तिम्रो र मेरो अधिकार बराबर, कर्तव्य बराबर र सामाजिक दायित्व पनि बराबर भएको छ ।
कुमारी कन्या जब विवाह गरेर वरको घरमा जान्छिन् जिम्मेवारीहरू प्रशस्तै बढ्छन् । कुमारीत्व पनि भङ्ग हुने हुँदा उनमा शरीरिक तथा मानसिक पीडा र ताप उत्पन्न हुन्छ । ताप शान्तिका लागि घाँटीमा पोते धारण गर्दा शीतलता प्राप्त हुन्छ । शास्त्रीय मान्यताअनुसार मङ्गलकार्य भएकाले मङ्गलकारक सूत्रको रूपमा पनि पोते लगाइदिनुपर्छ । आधुनिक विज्ञानका अनुसार छाती, घाँटी, र गर्धनलाई सदासर्वदा शीतलता प्रदान गर्न र अकुपञ्चर विन्दु (एक्यूप्रेशर प्वाइन्ट)हरूलाई सक्रिय बनाउन पोते लगाउनुपर्दछ । रातो पोतेले आरोग्यता, पहेँलो पोतेले आध्यात्मिक शान्ति, हरियो पोतेले समृद्धि प्रदान गर्दछ । विशेष गरेर शास्त्रमा रातो पोतेको प्रशस्त महत्व रहेको देखिन्छ । रातो पोते धारण गर्नाले सुख, सौभाग्य र परिवारमा शान्ति र समृद्धि प्राप्त हुन्छ । अतः विवाहमा पोते अनिवार्य रहेको छ ।

विवाह के हो ?
प्रजनन र जीवविकासका लागि विवाह एउटा पवित्र बन्धन हो जसले सामाजिक मान्यताप्राप्त प्रजननलाई सहयोग पु¥याउँदछ । विवाह कति प्रकारका हुन्छन् भन्ने सन्दर्भमा वैदिक शास्त्रहरूमा उल्लेख गरिएको छ ।
१. ब्रह्म विवाह– वेदज्ञ, सुशील, स्वस्थ वरलाई हेरी घरमा बोलाएर कन्यालाई विभिन्न आभूषणले सुसज्जित गरी कन्यादान गरी वरको हातमा दिने विवाहलाई ब्रह्मविवाह भनिन्छ ।
२. दैव विवाह– यज्ञकर्ता वैदिक विद्वान्लाई यज्ञादिको पूर्ण आहुतिपछि अन्तिममा कन्यालाई सौभाग्यादिले अलङ्कृत गरेर कन्यादान गर्ने विवाहलाई दैवविवाह भनिन्छ ।
३. आर्ष विवाह– वैदिक विद्वान्द्वारा सम्पादन गर्ने र अग्निलाई साक्षी राखेर केही उपहार लिएर कन्यादान दिने विवाह आर्ष विवाह हो ।
४. प्राजापत्य विवाह– वरबधूलाई एक–आपसमा भेट गराई मन परापर भएपछि कन्यादान गरी गरिने विवाह प्राजापत्य विवाह हो ।
५. आसुरी विवाह– वरपक्षसँग केही धन लिएर कन्यादान दिने विवाह आसुरी विवाह हो ।
६. गान्धर्व विवाह– लामो समयको प्रेमप्रसङ्गपछि गरिने विवाह गान्धर्व विवाह हो ।
७. राक्षस विवाह– कन्याको स्वीकृतिविना अपहरण गरी वा बलपूर्वक गरिने विवाह राक्षस विवाह हो ।
८. पैशाच विवाह– कन्याको शीलभङ्गपूर्वक बलात् गरिने विवाह पैशाच विवाह हो ।
यी आठ विवाहअन्तर्गत पनि उत्तम, मध्यम र अधम विवाहको वर्णन गरिएको छ । ब्रह्म, दैव, आर्ष र प्राजापत्यलाई उत्तम विवाह हुन् जसमा कुनै प्रकारको लेनदेन, लोभलालच हुँदैन । यी विवाहलाई आदर्श विवाह मानिएको छ । मध्यम विवाह आसुरी र गान्धर्वलाई लिइएको छ । धनद्वारा कन्याको क्रयविक्रय र लोभलालचद्वारा गरिने भएकाले यसलाई मध्यम विवाह मानिएको हो । राक्षस र पैशाच विवाहलाई बलपूर्वक र करकापमा गरिने हुनाले अधम विवाह हुन् त्यसैले यिनको चर्चा वैदिक शास्त्रहरुमा पाइँदैन । शुरुका चार विवाहलाई मात्र महत्व दिइएको छ । आमाबाबु र कन्याको स्वीकृति, कूल, कुटुम्बसहित भएर गरिने, यज्ञयागादि र अग्निलाई साक्षी राखी गरिने विवाह शुरुका चार उत्तम विवाह हुन् ।
अन्तमा, संस्कारविहीन समाजको कल्पना पनि गर्न सकिंदैन । वैदिक संस्कार हाम्रो जीवनका गतिशिल आधारहरु हुन् । संस्कारले व्यक्ति, समाज, समुदाय हुँदै अनुशासित तथा न्यायपूर्ण राज्यव्यवस्था निर्माण गर्न सहयोग पुग्ने हुनाले धर्म, संस्कार, परम्पराको पालना गर्न जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here