यज्ञ गर्नका निम्ति अन्नको आवश्यकता पर्दछ । यज्ञ–हवन गर्दा निस्किएको शुद्ध ऊर्जा वायुमण्डलमा फैलिन्छ । त्यसबाट वृष्टि हुन्छ । वृष्टिबाट चराचर जगत्को, प्राणीको जीवनदायिनी शक्तिको सृष्टि हुन्छ । हाम्रा शास्त्रीय मान्यताले सम्पूर्ण मानवहित, परोपकारी भावना विकासका लागि यज्ञकर्मका निम्ति अन्नको महत्वको विषयमा पुष्टि गरेका छन् ।

धर्मशास्त्रमा अन्न नै प्राण हो भनिएको छ । मानवजीवन अन्नमा नै निर्भर छ । शरीरमा पञ्चप्राणको अवस्थिति छ । प्राण, अपान, व्यान, समान र उदान । प्राणको पुष्टिका लागि अन्नको आवश्यकता पर्दछ । अन्नमय कोष विकासका लागि अन्न नै चाहिन्छ । अन्नको प्राप्तिबिना मानिसको शरीर पोषणयुक्त र पूर्ण हुन सक्दैन । स्वस्थ शरीरका लागि अन्न आवश्यक छ । अन्न, जल र वायुविना मानिस बाँच्न सक्दैन । सन्तुलित आहार, जल र वायु मिलेको शरीर नै स्वस्थ, शक्तिशाली र सुदृढ हुन सक्छ ।
शरीरमा अन्नको पौष्टिक तत्व रहेन भने मानिस सुस्वास्थ्य, दीर्घायुको कल्पनासमेत गर्न सक्दैन । सृष्टिको उत्पत्तिका साथै अन्न, वनस्पति र औषधिको उत्पत्तिको विधान भएको छ । वेदका मन्त्रहरूमा अन्न, कृषि, कृषिको उपयोगिताबारे चर्चा भएका छन् । मानवजीवनको आधार नै कृषि हो । सृष्टिका प्रत्येक गतिशील जीवलाई अन्नको आवश्यकता पर्दछ ।
सृष्टिमा पाइने जीव–वनस्पतिलाई चार प्रकारमा विभाजन गरिएको छ—
अण्डज पंक्षी– भाले–पोथीबाट फुल ओथरेर उत्पन्न हुने पक्षी आदि,
पिण्डज÷जरायुज डाँगो–छाउरी, पुरुष–स्त्रीको सम्बन्धबाट जन्म लिने (सालनालसहित उत्पन्न हुने जीवजन्तु, मनुष्य),
श्वेदज– पसिना, फोहरमैलाबाट उत्पन्न हुने उडुस, उपियाँ, जुम्रा, लिखा, भाइरस ब्याक्टेरिया आदि ।
उद्भिज– धरतीमा बीउबाट उत्पन्न हुने वनस्पति, औषधि, लतागुल्म, अन्न, धान, जौ, तील, कागुनी आदि हुन् । यस्ता चार प्रकार जीव–वनस्पतिमध्ये पंक्षी जातका प्रजाति, मनुष्य तथा जीवजगत्का प्रजाति, वनस्पति जगत्का प्रजातिका लागि तिनको अवस्था र स्वरुपअनुसार अन्न, जल र भोजको आवश्यकता पर्दछ । मनुष्यलाई सवैभन्दा धेरै भोक–तिर्खाको अनुभूति हुन्छ । हाम्रा पूर्वजहरूले कृषिकर्मका लागि वैदिक कृषिलाई महत्वपूर्ण स्थान दिएका थिए । नेपालको कृषि परम्परा पनि वैदिक कृषिको परम्परागत अवस्थाबाट विकास भएको छ ।
या ओषधि पूर्वाजाता देवेभ्यः …. (वेद)
मनुष्य धरतीमा आउनुभन्दा तीन युगपहिले वृक्ष वनस्पति, लतागुल्म र अन्न आएको वेदमा उल्लेख भएको छ ।
मानवको उत्पत्तिसँगै भोक–तिर्खा, चिसो–तातो, सुख–दुःख साथमा आएका छन् । भोक–तिर्खा निवारणका लागि अन्न आवश्यक छ । त्यसैका लागि व्यवस्थित कृषिको आवश्यकतालाई अनुभूत गरी सृष्टिको आरम्भमा भगवान् शिव र पार्वतीले अन्नपूर्णाबाट अन्नको बीज उत्पन्न गराई विकास भएको वैदिक वाङ्मयमा चर्चा छ । कृषिकार्यलाई गौरवपूर्ण कार्य मानिएको छ । कृषक साक्षात् परमात्माका सन्तान हुन् भन्ने भाव वेदमा रहेको छ । कृषिकार्यलाई गौरव, सम्मान र प्रतिष्ठाको कार्य भनेर प्रशंसा गरिएको छ । भगवान रुद्रको निर्देशनमा इन्द्र र पूषाले सर्वप्रथम धरतीमा कृषिको आरम्भ गरे भन्ने वचन पाइन्छ ।
विराट ब्रह्मबाट जब मनुष्यको सृष्टि भयो । सृष्टिमा ब्रह्माले इरावती (अन्नसमृद्धि) को विषयमा उपदेश गर्नुभयो । कृषिलाई उत्तम कार्य भन्दै सस्य (पृथिवी सस्यशालिनी) पृथिवी अन्नले समृद्ध होऊन् भन्दै भाव प्रकट गरियो । कृषिकार्य र मनुष्यजीवन एकअर्काका पूरक हुन् । कृषिकार्यबाट नै अन्नसमृद्धिको परिकल्पना गरिएको छ ।
ते कृषिं च सस्यां मनुष्या उपजीवन्ति । अथर्ववेदमा यस्तो भनिएको छ— जो कृषिमा निपुर्ण हुन्छन्, तिनीहरूलाई कृष्टराधि (सफल जीवन निर्वाह गर्ने मानव) भनिएको छ ।
सफल आजीविका भएका उत्कृष्ट पुरुषहरूलाई कृषकलाई मानिएको छ । कृषक नै धर्तीका जीवित देवता सरह हुन् जसले कृषिकार्य गरेर धर्तीमा सवैको प्राणलाई बचाएका छन् । कृषिविशेषज्ञलाई ‘अन्नविद्’ भनिएको छ । सफल अन्नविद् ऋषिहरूले कृषिको नियम बनाएका हुन् ।
यजुर्वेदमा राजधर्मको महत्वपूर्ण पक्ष कृषिकार्यलाई मानिएको छ । शासकको कर्तव्य कृषिकार्यलाई व्यवस्थित गर्नु र कृषिकार्यलाई जनसमुदायमा प्रोत्साहन गर्नु भनिएको छ । कृषिको निरन्तर उन्नति गरी सम्पूर्ण प्रजालाई उन्नतशील बनाऊन् । जनकल्याणका लागि धनधान्यको वृद्धि होस् । धनधान्यको वृद्धिबाट प्रजाको हित र सुरक्षा निश्चित छ । तसर्थ, उत्कृष्ट कृषिको व्यवस्था गर्नु राष्ट्रप्रमुखको प्रथम दायित्व हो ।
अन्नको महत्व नबुझ्नेहरूलाई शासनसत्तामा एकछिन पनि बस्ने अधिकार हुँदैन । तसर्थ कृषिलाई प्रोत्साहन नगर्ने, जनताका दुःखसुखमा, भोजनको अभावमा, दैविक प्रकोप र आपत्ति आएको अवस्थामा सर्वसाधारण जनसमुदायले भोजन गर्न पाएनन् भने राष्ट्रप्रमुखले सामुहिक भोजनको सदावर्तको व्यवस्था गर्नुपर्दछ । यदि त्यस्तो गर्दैन भने त्यस्ता शासकलाई राज्यसत्ताबाट तुरुन्त पतन गराऊ र अर्को सुयोग्य राष्ट्रप्रमुख नियुक्त गर— ऋषिहरुको निर्देशन हो ।
अन्न सञ्चय गरी राष्ट्रिय भण्डार सधैं पूर्ण होस् । अन्नपूर्णको भण्डारमा निरन्तर बास होस् । वैदिक वाङ्मयमा कृषिकार्य चार विभागमा व्यवस्थित गरिएको छ ।
कृषन्तः, वपन्तः, लुनन्तः, मृणन्तः । शतपथ० १.६१.३
कर्षण (खनजोत गर्नु), वपन (खनजोत गरिएको उत्तम भूमिमा बीउ रोप्नु), लवन (अन्नलाई गोड्नु, पाकेकोलाई काट्नु, उठाउनु), मर्दन (स्वच्छ बनाउनु, कुट्नु, पिस्नु, केलाउनु, भण्डारण गर्नु) ।
ऋग्वेदअनुसार सर्वप्रथम देवगण (पुरुषार्थी विद्वान्) उनीहरूसँग एक प्रकारका तिखा हतियारहरू (बन्चरो) थिए । उनीहरूले सबैभन्दा पहिले वन र जंगललाई काटेर सफा गरे । उनीहरूसँग केही सहयोगी परिजन अथवा प्रजा पनि थिए । उनीहरूले जंगलबाट प्राप्त गरेका दाउराका टुक्राहरूलाई एकत्रित गरे र नदीकिनारामा राखे । त्यहाँ रहेको घाँस पनि काटे । योग्य र विज्ञ पुरोहितले अग्नि प्रज्वलित गरे । अग्निमिडे पुरोहितः… (ऋग्वेद) । ऋतुअनुसार कृषि गर्ने विधान पाइन्छ । वसन्त ऋतुमा दाना अथवा वीज प्रयोग गरेर रोपिने अन्नवालीको खेती गर्नुपर्दछ । चैत्र पूर्णिमामा चण्डीको पूजा गर्नु, चैत्र शुक्ल प्रतिपदामा जमरा राख्नु, वीउ–विजन उम्रिने परीक्षण गर्नु हो । ग्रीष्म ऋतुमा विभिन्न वाला हुने, फुल्ने–फल्ने वनस्पति लतागुल्मको खेती गर्नु, धान सहित तील, कागुनी, मुंग, चना आदिको खेती गर्ने विधान पाइन्छ । शरद ऋतुमा जौ सहित वाला आउने अन्नको खेती गर्नु । हेमन्त ऋतुमा लहरा, कोषा आदि हुने अन्नको खेती गर्नु भनिएको छ । शिशिर ऋतुमा पालुवा आउने, कलमी गाड्ने प्रकारका वीज–वनस्पति खेती गर्ने विधान पाइन्छ ।
वागमती, विष्णुमती, रुद्रमती र गण्डकीको किनारमा कृषि कार्यको आरम्भ गरे । धर्तीमा पहिलो अन्न नै धान हो । धानको खेती शुरु गरे । धान, जौ, तील, कागुनी, चना, मुंग, मास आदि अन्नहरुको खेती गरे । वैदिक वाङ्मयमा आगो र अन्नको सम्बन्ध अन्योन्याश्रित छ । जन्मदेखि मृत्युसम्म बयालीस संस्कारहरु रहेका छन् । त्यसमा प्रमुख १६ संस्कारहरूमा आगो बाल्ने, हवन गर्ने विधान गरिएको छ । मृत्यु संस्कारमा पनि आगोमै बालेर शरीरलाई समाप्त गर्ने विधान हो । अन्न र अक्षता विना वैदिक संस्कारका कुनै पूजा, यज्ञ हवन सम्पन्न हुँदैनन् । दशैंको टिकादेखि लिएर विवाहको मण्डपसम्म धानको लावा र अक्षताको प्रयोग गरिन्छ नै । तील, जौ, चामल (अक्षता), मुंग, मसुरो, कागुनी, चना सवै यज्ञमा प्रयोग हुने अन्नहरू र जो पवित्र र पौष्टिक मानिन्छन् ।
नेपाली सन्दर्भ
नेपालको सन्दर्भमा कृषिक्रान्तिका नाममा उब्जाऊ भूमिलाई टुक्रा–टुक्रा पारेर घडेरी बनाउने आँधीवेहरी नै चल्यो । उब्जाऊ भूमि भएका कृषकलाई घडेरी व्यापारका नाममा जग्गा दलालका रूपमा कार्य गर्ने कार्यकर्तामा परिणत गरियो । ती उब्जाऊ भूमि भएका कृषकका छोराछोरीहरु आज खाडीमा ज्यान गुमाइरहेका छन् । राष्ट्रिय अर्थतन्त्र ध्वस्त बनाइएको छ । के यहि थियो दुई–दुईवटा कृषि क्रान्तिको अर्थ र सार ? समाजवाद, आर्थिक उदारीकरण तथा साम्यवादी कृषि क्रान्तिका कारण आज मुलुकका दुई तिहाई कृषियोग्य भूमि घडेरीका नाममा टुक्रिँदैछन्, बहुसंख्यक उब्जाऊ कृषकहरु घडेरी दलालमा परिणत भएका छन् र मुलुकले अरवौं बराबरको अन्न विदेशी मुलुकबाट आयात गर्न बाध्य छ । यही हो कृषि क्रान्ति ?
अन्त्यमा,
हामी वैदिक कृषिको अभ्यासबाट राष्ट्रलाई समृद्धशाली बनाउन सक्छौं । हाम्रा मौलिक परम्परा, मान्यताहरूलाई वैज्ञानिक तथ्यमा पुष्टि गर्न सक्छौं । हामीले कृषिका लागि आत्मनिर्भर हुनलाई सम्पूर्ण राष्ट्रको विकास र उन्नतिका लागि कृषिलाई प्राथमिकता दिएर सम्पूर्ण भूभागमा कृषिको व्यवस्थित व्यवस्थापन गर्ने महत्वपूर्ण अवसर निर्माण गरौं । भोक, शोक, अशिक्षा, अन्यौलतालाई हटाउन कृषिकर्मलाई राष्ट्रियकर्म बनाउनेतर्फ लाग्नु नै तर्कसंगत र बुद्धिमानीपूर्ण हुन्छ । अन्नको उपयोगिता संसारभरि रहेकै छ । हाम्रो देश केही दशकपहिले कृषिमा आत्मनिर्भर नै थियो । तर आज हामी सम्पूर्ण अनाज, तील–तेलहन र खाद्यान्नहरू आयात गरिरहेका छौ । जसले राष्ट्रवासीलाई दिनानुदिन परर्निभर बनाउन प्रोत्साहन गरिरहेको छ भने आयातित खाद्यन्न, आयातित विचार, आयातित वाद, वस्त्र, आभूषण, सौन्दर्य प्रसाधन आयात गरेर परजीवी, परविचारका संवाहक, परचक्रीका संयोजक त बनिरहेका छैनौं ? गम्भीर प्रश्नहरु उब्जिन्छन् । समाजलाई डोराउनेहरूबाट कुनै ठोस योजना कार्यान्वयन नहुँदा कृषक न कृषि सवै भद्रगोल र अस्तव्यस्त भएको छ । राष्ट्रिय स्वाभिमानलाई माथि उठाउनु छ भने नेपालको वैदिक कृषिका सिपलाई जनस्तरमा पु¥याएर विकास गर्नु कृषिमा आत्मनिर्भर बन्नु नै राष्ट्र समृद्धिको उत्तम विकल्प ह¬¬ो ।
भवतु सर्व मङ्गलम् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here