डा. वासुदेवकृष्ण शास्त्री

वैदिक वाङ्मयमा वास्तुका मूलभूत सिद्धान्तहरू स्थापत्य वेद मयमतम, शिल्पशास्त्र आदि विविध ग्रन्थहरूमा निर्माणको सन्दर्भ र वृक्ष–वनस्पतिको प्रयोग उल्लेख भएको पाइन्छ । पुष्प सौन्दर्यको अप्रतिम रूप हो । वास्तुविज्ञानमा पुष्प रोपण र उपयोगका बारेमा उल्लेख पाइन्छ । सामान्यतया घरको अवस्थाअनुसार जथाभावी जुनसुकै फूल रोप्ने चलन छ । वास्तुशास्त्रले घरको तला, घडेरीको दिशा, घरधनीको राशि, घरमा लगाइएको रङ्गआदिलाई आधार बनाएर फूल लगाउने विधान छ ।

मान्छेको जीवन र फूलको सम्बन्ध प्रगाढ छ, मान्छे आँशु–हाँसो मिश्रित जीवनयापन गर्न बाध्य छ । आँशुमा डुबेर मात्रै मानिस जीवनयापन गर्न सक्दैन । हाँसोका लागि प्राकृतिक सौन्दर्यका विभिन्न तत्वलाई मानवीय प्रयोगको आधार बनाएको परम्परा छ । देवतालाई चढाउने पुष्पको विधानदेखि वैवाहिक जीवनमा पुष्प माला, दुवोको माला, भाइटिकामा लगाइने सयपत्रको माला पुष्प प्रयोगका अनुपम नमूनाहरू हुन् । प्राचीन स्थापत्य कला होस् वा साहित्य, वेद होस् वा आधुनिक सजावट विधि सबैले पुष्प (फूल)लाई आनन्दको आश्रय स्थलका रूपमा प्रयोग गरेका छन् । घरको कतातिर, कुन तलामा, कस्तो रङ्गका फूलहरू लगाउनेबारे वास्तुविद्सँग विस्तृत जानकारी लिए राम्रो हुने भए पनि सर्वसाधारणलाई सामान्य ज्ञान होस् भन्ने हेतुले यहाँ पुष्प रोपणबारे चर्चा गरिएको छ ।

पूर्वमा— घरको पूर्वदिशामा रातो फूल रोप्नु राम्रो हुन्छ, जसमा काँडा नहोस् । दूध (चोप) आउने खालका फूल लगाउने भए गमलामा नभएर घडेरीको छेउमा एकहात खाली भूभाग बाहिर छोडेर त्यसभित्र रोप्नुपर्दछ । जहाँ बाह्रमासे, सुनखरी, रातो र पहेंलो फुल्ने फुल, पुनर्नवा, विहीँ, बोथे, बोझो, मेथी, हलेदो, सयपत्रीआदि लगाउन सकिन्छ । आग्नेय कोण (पूर्व–दक्षिण) तर्फ गुलाफ रोप्नु शुभदायक मानिन्छ । रातो र सेतो मिश्रित भएर फुल्ने केवरा, पहेँलो, रातो र नीलो मिश्रित भएर फुल्ने सूर्यमुखीआदि रोप्न सकिन्छ । यो दिशामा रातो गोदावरी पनि उपयुक्त नै मानिन्छ ।

पश्चिम— पश्चिम दिशादेखि वायव्य कोणपर्यन्त सेतो रङ्ग भएका पराग हुने सुगन्धित बाह्रमास फुल्ने, उचाइ सामान्यतया १५ देखि २० हातसम्म हुने फूल वा वनस्पति रोप्न सकिन्छ । यसमा चमेली, घण्टीफूल, बाँबरी, रातो केबरा, केराफूल, धूपी, मेथी, हलेदो, सयपत्री, सर्पगन्धा, लूँडे, चिरैतो, छत्तिवन, जटामसी, जेठीमधु, टिमुर, तीतेपाती, द्रोणपुष्पी, कुश, उसिर, अश्वगन्धा आदि रोप्न सकिन्छ । यो दिशामा पारिजात, सेतो शिरीष रोप्नु वाञ्छनीय नै हुन्छ । त्यसै गरी मालती, बेली, सुनगाभाजस्ता फूलहरू पनि रोप्न सकिन्छ ।

उत्तर— यो दिशामा सामान्यतया ५ देखि ७ हात उचाइ हुने खालका फूलहरूको प्रयोग गर्नु राम्रो हुन्छ । अझ गमलामा रोप्ने भए उचाइ जति कम भए पनि हुन्छ । रङ्ग भने यो दिशामा कलेजी, खैरो वा सेतो, पहेंलो, गेरु रङ्ग भएका वनस्पतिहरू लगाउनु उपयुक्त हुन्छ । उत्तर दिशामा पनि काँडा नभएका साना, हरियो, कलेजी, राता, सेता, छिर्केमिर्के परेका फूलहरू रोप्न सकिन्छ । उत्तर दिशाकै ईशानकोणमा भने नीलो, सेतो वा पहेँलो फुल्ने फुल रोप्न सकिन्छ । उत्तर दिशामै भुइँचम्पा, सुनाखरी, मखमली, गोदावरी, कमल, सूर्यमुखी, द्रोणपुष्पी, पारिजात, सुनाखरी, दूवो, तुलसी, तिल, जिरा, धनियाँ, बोझो, भृङ्गराज, भुइँअमला, सोमलता, सयपत्री, बाकुची, वरुण, ल्वाङ्ग, मोथे, चम्पाचमेली, कमल आदि रोप्न सकिन्छ । ठीक ईशान कोणमा भने अग्ला वनस्पतिहरू रोप्नुहुँदैन । निद्रादोष निवारणका लागि स्वप्नकच्छु रोप्न सकिन्छ । यस कोणमा धतुरो रोप्नाले जीवनका यावत समस्याहरू समाधान भएर जान्छन् ।

दक्षिण— दक्षिण दिशामा लहरा हुने र कालो, नीलो र हरिया लहरादार तथा सामान्य काँडा हुने फुल रोप्नु राम्रै मानिन्छ । यो दिशामा निल, शिरीष, गुलाफ, काकड, शृङ्गी, कुटुकी, खयर, गहत, काँस, करेला, इसवगोल, असुरो, अडेर, घण्टेघाँस, चिरैतो, द्रोणपुष्पी, धतुरो, निर्गुण्डी (सिमाली), नीम, बकाइनो, र फूलको रूपमा प्रयोग हुँदै आएको धूपी, अशोक आदिका वृक्षहरू पनि लगाउन राम्रो हुन्छ । दक्षिणदेखि नैर्ऋत्य कोणभित्र पर्ने गरी घरभन्दा अलि टाढा, बाहिरी पर्खालको छेउमा दूरी मिलाएर कपुर, रुद्राक्ष, अशोक, मरिच पनि लगाउन सकिन्छ । यो दिशामा सेतो फूल्ने सामान्यतया चार हातदेखि दस हात जति उचाइ हुने फूल लगाउनु शुभदायक मानिन्छ । यही दिशामा पहेँलो गोदावरी, सयपत्री, मखमली, भूइँचम्पा, चमेलीजस्ता फूल लगाउन सकिन्छ ।

पुष्प प्रयोग गर्दा सप्तरंगी फुलहरू, सुगन्ध आउने विभिन्न प्रकारका रङ्गीचङ्गी फुलहरु लगाएर जीवनमा उत्साह, उमंग, प्रेमको विस्तार गर्न सकिन्छ । घरमा यदि श्रीमान्–श्रीमतीमा अति धेरै तनाव, सन्तानवृद्धिमा वाधा छ भने शिवलिङ्गी र पुत्रजीवक, दुवो, तुलसी, पारिजात, चम्पा, चमेली पुष्पहरु लगाएर घरमा शान्ति र समृद्धि प्राप्त गर्न सकिन्छ ।

वास्तुका केही नियमहरू
वैदिक, पौराणिक कालमा निर्माण शास्त्रको महत्व अति विशिष्ट थियो । ठूला–ठूला भवन, राजप्रसाद, किल्ला, विद्यालय, देवालय वा मन्दिर, तलाउ, कुवा, वागबगैंचा आदि निर्माण गर्दा, वास्तुशास्त्रका नियमअनुसार गरिन्थ्यो । सनातन निर्माणको युग, ढुंगे युग, स्वर्णयुग, ताम्रयुग, लौहयुग, मृत्तिका युग, काष्ठयुग आदि युगहरुमा निर्माणको महत्व विशिष्टखालको रहेको थियो । त्यसपछिको केही समय भवन बनाउने कलाअन्तर्गत सुन्दरतालाई मात्र ध्यान दिने प्रचलन बढेर गयो । तर, आधुनिक समयमा वास्तुशास्त्रको पुनर्जागरण भएको छ । यहाँ वास्तुसम्मत भवन अथवा आवास निर्माण गर्दा ध्यान दिनुपर्ने केही नियमहरु बुँदागत रुपमा प्रस्तुत गरिन्छ ।
कुनै पनि भूखण्डको परीक्षणका लागि विशेष गरी पाँच वस्तुलाई ध्यान दिनुपर्दछ— पृथ्वी, जल, वायु, अग्नि र आकाश । सौरमण्डलको प्राकृतिक ऊर्जा दिने यी पाँच तत्व कुन पनि प्रकारबाट दोषरहित भएको हुनुपर्दछ । पञ्चतत्वमा दोष र विकृति उत्पन्न भए वास्तुको प्रकोप त्यहाँ बस्ने जनसमुदायलाई पर्दछ । प्राकृतिक ऊर्जाको सन्तुलन र अधिकतम सकारात्मक स्रोतको उपयोग गरेर जीवनमा सुख, शान्ति, समृद्धि प्राप्त गर्नु नै वास्तुशास्त्रको प्रमुख लक्ष्य हो ।
कुनै पनि आवासस्थलमा बाटो टुङ्गिएको अन्तिम भवन खरिद गर्नु वा त्यस्तो घडेरीमा भवन निर्माण गर्नु उपयुक्त हुँदैन । सडक किनारामा बनेको र एक्लो भवन पनि आवासका लागि शुभ मानिँदैन ।
कुनै पनि प्रयोजनका लागि किन्ने घडेरी अथवा स्थानलाई किन्नुअघि आफूले राम्रोसँग नापजाँच गरेर किन्नुपर्छ । किन्ने व्यक्तिको राशि, नक्षत्रअनुसार भूमिको माटोको रङ, वास्तुसम्मत दिशा एवम् नियमसँग मेल खाने घडेरी छान्नुपर्छ ।
त्रिकोण परेको भूमि घडेरीको लागि राम्रो मानिँदैन । एकातिर अत्यधिक चौडा अथवा अर्कातिर अति धेरै चुचो भएर गएको भूमि वास्तुसम्मत दृष्टिकोणले अशुभ मानिन्छ । अतः यस्तो घडेरी पनि किन्नु हुँदैन ।
प्राकृतिक प्रकाश आउने दिशा, स्वच्छ वायु वहने स्थान, मुख्य मार्ग, उपमार्ग, अथवा सिधा, फराकिलो बाटो भएको र आफ्नो नाम र राशिअनुसार मेल खाने भूमि घडेरीको लागि उपयुक्त हुन्छ ।
प्रस्तावित घडेरी रहेको भूमिमा कुनै पनि कुना वा आग्नेय कोणमा रुखको जरो वा पानीको स्रोत भएको हुनुहुँदैन ।
बिजुलीको पोल, तथा ट्रान्समिटर लाइन वा खम्बाको नजीक रहेको घडेरीको आग्नेय कोणमा शुभदायक मानिन्छ, अन्य कोण वा दिशामा रहेको घडेरी उपयुक्त हुँदैन ।
सरकारी गुठी, गौचरन वा सार्वजनिक जग्गा मिचेर घर बनाउनुहुँदैन । कुनै मन्दिर देवालय ठूलो रुखहरु हटाएर घर निर्माण ग¥यो भने त्यहाँ बस्ने व्यक्ति सर्वाधिक तनामा रहने गर्दछ । समयुक्त जग्गा, डुवान हुनसक्ने खतरायुक्त भूमि र वर्षाको समयमा पानी जम्ने स्थान कहिल्यै चयन गर्नुहुँदैन ।
सकेसम्म जाडोयाममा सूर्यको किरण वा प्रकाश प्रशस्त मात्रामा आउने र उज्यालो ठाउँको भूमि चयन गर्नु आवश्यक हुन्छ । घर बनाउँदा पूर्वतिर फर्केको द्वार बनाउनुपर्दछ ।
प्रस्तावित घडेरीको स्थानमा कुनै अपराधजन्य घटनासँग सम्बन्धित वा जोडिएको वस्ती हुनुहँुदैन ।
कार्यालयको लागि घडेरी किन्दा अन्डरग्राउण्ड, माटोको सतहभन्दा मुनिको ढोका तथा मुख्य द्वारको तल जति नै ठूलो स्थान भए पनि उपयुक्त हुँदैन ।
घरको नक्सा बनाउनुपूर्व मुख्य द्वारदेखि सडक या बाटोसम्मको बीचमा मुख्यद्वारको तल अगाडि कुनै पनि अवरोध हुनुहुँदैन । सूर्यको प्रकाश सही रुपमा पर्नुपर्दछ । बगैँचा आदि बनाउँदा घरको मुख्य द्वारको अगाडि अथवा सामुन्ने अग्ला वनस्पतिहरू रोप्नुहुँदैन ।
प्रस्तावित घडेरीमा नक्सा बनाउँदा घरको अगाडि गहिरो खाडल र अग्लो पर्खाल हुनुहुँदैन । भवन तथा निर्माणस्थलको पूर्व, पश्चिम, उत्तर र दक्षिण कुनै पनि दिशामा कुनै पनि प्रकारको वास्तुदोष हुनुहुँदैन ।
जेनेरेटर, ट्रान्समिटर, बिजुलीघर आदिको स्थापना जहिले पनि पूर्व–दक्षिणको बीच (आग्नेय) कोणमा गर्नुपर्दछ । गौशाला, तुलसीको मोठ, घरको पूर्वपट्टि शुभादायक मानिन्छ ।
घडेरी वा घरको नजीकै कुनै ऐतिहासिक खण्डहर, समाधिस्थल, अति अग्ला रुखविरुवा, वरपिपलको रुखको छाया भएको शुभ मानिँदैन ।
दक्षिण–पूर्व (आग्नेय) कोणमा जलस्थल, पानीको ट्यांकी, इनार हुनुहुँदैन । पानीको स्रोत र ट्याङ्कीको छायाँ घरमा परेको छ भने त्यो घर निवासका लागि उपयुक्त हुँदैन ।
उत्तर–पूर्व कुनामा पानीको स्रोत, दक्षिण–पूर्वमा भान्सा, दक्षिण–पश्चिममा घरमुलीको शयनकक्ष, उत्तर–पूर्व कुनामा पूजा कोठा सवैभन्दा शुभदायक मानिन्छ । वास्तुसम्मत नियमअनुसार निर्माण भएको छैन भने घरको मूलद्वारमा स्वस्तिक चिन्ह, अष्टमङ्गल, दायाँ–बायाँ गरेर दुईवटा कलश राखी वास्तुदोष निवारण गर्न सकिन्छ । घरको छतमा हनुमान, नारायण, गरुडध्वज आदि झण्डाहरू लगाएर वास्तुदोष निवारण गर्न सकिन्छ । जुन घरमा प्रतिदिन भगवान पूजा वा सत्सङ्ग गरिन्छ, दियो कलश गरी गणेशको पूजा गरिन्छ त्यो घरमा वास्तुदोष स्वतः कम भएर जान्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here